• मंसिर १४ २०८१, शुक्रबार

कांग्रेस पदाधिकारी बैठकको निर्णय : प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने 

बैशाख २१ २०७८, मंगलवार

 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकबारे जानकारी गराउँदै कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले भने,‘विश्वासको मतका लागि भनेर संसद बोलाउने जुन काम भएको छ । ओलीजीलाई विश्वाको मतमा फेल गराउने निर्णय भएको छ ।’

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरिसकेको अवस्थामा त्यसलाई फेल गराउने निर्णय गर्दै 

विश्वासको मत नपाइसकेको अवस्थामा वैकल्पिक सरकार गठनका लागि समेत पहल गर्ने निर्णय गरेको उनले बताए । उनले कांग्रेसले यसअघि नै नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरिसकेको अवस्थामा संसदमा विश्वासको मत फेल भइसकेपछि वैकल्पिक सरकारका बारेमा छलफल शुरु गर्ने बताए ।

उनले भने,‘विश्वासको मतमा फेल भएको अवस्था विकल्पको सरकारका लागि के गर्ने भन्ने विषयमा हामीले छलफल शुरु गर्छौं ।’

कांग्रेसले सरकारले दोस्रोपटक अध्यादेश जारी गर्ने निर्णयको समेत विरोध गरेको छ । सहमहामन्त्री महतले भने,‘अहिले अध्यादेश मार्फत संवैधानिक आयोगहरुमा नियुक्त गर्ने कामको भर्त्सना गरेका छौं । संसदलाई पटक-पटक छल्ने कुरा पार्टीले भर्त्सना गरेको छ ।’