काठमाडौं । सङ्घीय संसद् सचिवालयले यही वैशाख २७ गते सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई अनुरोध गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानअनुरुप आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नुभएको जनाउँदै गरेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोही प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।
प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा, १०० को उपधारा, (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्दै अधिवेशन आह्वान गरिएको हो भने प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्न सक्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वान भएकाले उक्त मिति, समय र स्थानमा प्रतिनिधिसभा सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको सङ्घीय संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।