काठमाडौं । कोरोना संक्रमनबाट बच्न सरकारले उपत्यकामा बिहीबारदेखि सवारी साधन चलाउन निषेध गर्दैछ । तर हवाई उडान सुचारु नै रहने हुनाले विमानस्थल आवतजावत गर्ने यात्रुका लागि प्रिपेड ट्याक्सी सुचारु गर्ने अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयको तयारी छ ।
काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले टिकट देखाएर विमानस्थलसम्म जान पाउने निर्णय गरेका छन् तर, निजी सवारी नभएका यात्रुका लागि प्रिपेड ट्याक्सीलाई सुचारु गर्न लागिएको अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयका महाप्रबन्धक प्रतापबावु तिवारीले बताए ।
‘प्रिपेड ट्याक्सीमार्फत यात्रुलाई आवत–जावत गराउने तयारी गरिरहेका छौं’ महाप्रबन्धक तिवारीले भने– ‘निषेधाज्ञाको बीचमा विमानस्थल खुल्ला हुने हुनाले यहाँको लागि डेडिकेटेड यातायातको व्यवस्थापन गर्नेबारे छलफल भइरहेको छ ।’
विमानस्थलमा ५ हजार कर्मचारी कार्यरत छन् ।
निजी सवारी नभएका कर्मचारीका लागि यातायातको व्यवस्थापन गर्नेगरी पनि उपत्यकाका प्रजिअहरुसँग छलफल भइरहेको तिवारीले बताएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलबाट डोमेष्टिकतर्फ दैनिक १ सय २९ र अन्तर्राष्ट्रियतर्फ १६ जहाजले उडान भरिरहेका छन् ।