• मंसिर १२ २०८१, बुधबार

भारतबाट १३ सय बढी संक्रमित नेपाल भित्रिए

बैशाख १४ २०७८, मंगलवार

महेन्द्रनगर । सुदूरपश्चिमका विभिन्न नाका हुँदै भारतबाट तेह्रसय भन्दा बढी कोरोनाभाइरस संक्रमित नेपाल भित्रिएका छन् । भारतसँगका प्रमुख दुई नाका त्रिनगर र गड्डाचौकीमा गरिएको परीक्षणमा १,३८९ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, गत १६ चैतदेखि १३ वैशाखसम्म गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

त्रिनगर नाकामा १३,१६२ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ११९ जनामा संक्रमण देखिएको छ । त्यस्तै, गड्डाचौकी नाकामा चार हजार २०० जनाको एन्टिजेन परीक्षण गर्दा २७० जनामा संक्रमण पुष्टि भएको हो । देशका अन्य नाकाभन्दा सुदूरपश्चिमका दुई नाकामा भित्रिएकाहरूमा संक्रमण बढी देखिएको हो । यो एक महिनाको अवधिमा देशका प्रमुख १० नाकामा १९ हजार ४५० जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ५८५ जनामा कोरोना देखिएको थियो । जसमध्ये एक हजार ३८९ जना सुदूरपश्चिमकै दुई नाकामा भेटिएका हुन् ।

सोमबार देशका १० नाकामा गरिएको परीक्षणमा ११४ जनामा कोरोना भेटिएको छ । जसमध्ये सुदूरपश्चिमका दुई नाकामा मात्रै १०३ जना रहेका छन् । अन्य आठ नाकामा ११ जनामा मात्रै संक्रमण देखिएको छ । सोमबार मात्रै गौरीफन्टा नाकाहुँदै नेपाल फर्किएकामध्ये ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले बताए । उनका अनुसार, गौरीफन्टा नाका भएर सोमबार ७ सय जना भित्रिएका हुन् । उनीहरूमध्ये ६ सय ८० जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

सुदूरपश्चिम प्रदेश खुला सीमानाका भएको कारण कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । कोभिड अस्पतालमा बिरामीको चाप बढ्न थालेपछि सिंगो प्रदेशमै भयावह अवस्था हुने सम्भावना देखिन थालेको नेपाल मेडिकल एसोसिएसन सुदूरपश्चिम प्रदेशका अध्यक्ष डा. प्रदीप मिश्रले बताए । छिमेकी मुलुक भारतबाट दैनिक हजारौँको संख्यामा नेपालीहरु स्वदेश फर्किरहेका छन् । सीमा क्षेत्रमा होल्डिङ सेन्टरको व्यवस्थापन नहुँदा आधाभन्दा बढी परीक्षणबिना नै गाउँ फर्किरहेका छन् ।