• मंसिर १० २०८१, सोमबार

आत्तिएर जनताले अक्सिजन पनि स्टक राख्न थाले

बैशाख १४ २०७८, मंगलवार

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो छ, जसका कारण यहाँ अक्सिजन माग तीन गुणा बढेको छ । त्रासकै कारण सर्वसाधारणले व्यक्तिगत रूपमा समेत अक्सिजन मौज्दात गर्न लागेको उद्योगीहरुको भनाइ छ । यद्यपि नेपालमा अक्सिजन अभाव भने छैन ।

समस्या सिलिन्डरमा मात्रै रहेको उद्योगीहरूले जनाएका छन् । संक्रमितको संख्या दिनहुँ बढिरहेकाले सरकारले सिलिन्डर आयात र खरिदको संख्या बढाउनुपर्ने उद्योगीहरूको भनाइ छ । शरीरमा अक्सिजनको मात्रा कम हुँदा बिरामीलाई कृत्रिम अक्सिजन दिनुपर्छ । तर उद्योगबाट रिफिल गरेर पठाउन आफूहरूलाई सिलिन्डरकै समस्या रहेको उद्योगीहरूको गुनासो छ ।

‘धेरै सिलिन्डर होल्डिङमा हुन्छन् । ३–४ सय सिलिन्डर रोटेसनमा छन् । अहिलेसम्म चलिरहेकै छ,’ शंकर अक्सिजन ग्यास प्रालिका प्रबन्धक शम्भु भण्डारीले भने । ‘हरेक अस्पतालमा माग बढ्दो क्रममा रहेकाले सरकारले सिलिन्डरको आयात संख्या बढाउनु पर्छ । थप सिलिन्डर आयात नभए समस्या हुन सक्छ,’ उनले भने । आजको कान्तिपुर दैनिकमा यो समाचार छ ।