कोरोना भाइरसको दोस्रो लहरको बढ्दो प्रभावसँगै पशुपतिनाथको दर्शनमा पनि रोक लगाइएको छ । कोरोना प्रभावित क्षेत्रका विद्यालयहरुमा पठनपाठन बन्द गरिएको केही दिनपछि शुक्रवारदेखि पशुपति मन्दिरमा पुजाआजाका लागि भक्तजनलाई रोक लगाइएको हो । यसबाट नेपालको धार्मिक पर्यटन प्रभावित हुन पुगेको छ ।
शुक्रबारदेखि नै लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि भनेर भक्तजनलाई पशुपतिनाथमा पुजाआजा गर्न अनुमति नदिइने निर्णय गरिएको हो । अबका दिनमा कोरोना भाइरसको पहिलो लहरले लकडाउन गराउनका लागि परिस्थिति खडा गरिएका बेलामा झैं केवल पशुपतिनाथ तथा अन्य मन्दिरमा नित्य पुजाआजा मात्र गरिने छ । सार्वजनिक गरिएको विज्ञप्तिमा ‘पशुपतिनाथ मन्दिरमा नित्य पुजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने व्यवस्था गरिएको’, भनी उल्लेख छ ।
त्यसो त देशभर भिडभाड गर्न नहुने भनेपछि अन्य मन्दिरहरुमा पनि यो नियम क्रमशः लागू हुँदै जाने देखिन्छ । यसले घरेलु तथा धार्मिक पर्यटनमा असर पुर्याउने छ । जानकी मन्दिरमा पनि धार्मिक कार्यक्रमहरु आयोजना गर्न प्रतिबन्ध नलगाइए पनि निगरानी भने राखिएको छ । त्यहाँ सामाजिक दुरी कायम गर्नुपर्ने कुरालाई कडाइ गरिदै लगिएको छ ।