• बैशाख १९ २०८३, शनिबार

पूर्वराजाले भारतलाई दिए धन्यवाद, यस्तो छ कारण

बैशाख ६ २०७८, सोमबार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गरेका छन् । आफ्नो भारत भ्रमण सहज बनाइदिएकोमा उनले भारतलाई धन्यवाद दिएका हुन् । आइतबार भारत भ्रमणपछि स्वदेश फर्किएका पूर्वराजाले विज्ञप्ति जारी गर्दै आभार व्यक्त गरेका हुन् ।

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट हार्दिक कृतज्ञता, आभार तथा धन्यवाद बक्स ।
निरन्जन अखाडाका पिठाधिश्वर आचार्य महामण्डलेश्वर श्री कैलाशानन्द गिरीको निमन्त्रणामा हामी पवित्र तीर्थस्थल हरिद्वारमा हरेक १२ वर्षमा सम्पन्न हुने महाकुम्भमेला अनुष्ठानमा सहभागी भएर स्वदेश फर्केका छौँ ।

हाम्रो यो महत्वपूर्ण धार्मिक भ्रमणका क्रममा हरिद्वारमा भएको हाम्रो विशेष सम्मान, सत्कार र संस्कारयुक्त आदर भावप्रति निरन्जन पीठका पिठाधिश्वर आचार्य महामण्डलेश्वर श्री कैलाशानन्द गिरीमा तथा समस्त सन्त महात्माहरूमा हार्दिक कृतज्ञता ब्यक्त गर्दछौ ।

महाकुम्भमा शाही स्नान र गंगा आरतीको विशेष प्रबन्ध मिलाउन अखाडा परिषदले लिएको दायित्व आफैमा अविस्मरणीय छ । शाही स्नान अवधिमा सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूको तर्फबाट हामीलाई गरिएको अभिनन्दन र आर्शिवचनका लागि पनि हामी आभार ब्यक्त गर्दछौं ।

हाम्रो भारत बसाइलाई सरल र सहज बनाउने ब्यवस्थाको लागि हामी भारतीय जनता र भारत सरकार प्रति पनि आभार व्यक्त गर्न चाहन्छौं । भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्कदा विभिन्न संघसंस्था तथा नेपाली जनसमुदायबाट दर्साइएको स्वागत सम्मानका निम्ति हामी सबै शुभ चिन्तक दाजुभाई दिदीबहिनीप्रति दिलैदेखि आभार प्रकट गर्दै धन्यबाद दिन चाहन्छौँ ।
जय नेपाल । मितिः २०७८ बैशाख ६ गते ।