• मंसिर ११ २०८१, मंगलवार

घर दैलोमा स्वागत नयाँ वर्ष २०७८ लाई !

बैशाख ६ २०७८, सोमबार

सदा झैं नेपालीहरुका घर आँगनीमा नयाँ वर्षको आरम्भ भएको छ । प्रमादी नामको सम्वत्सर सकिएर चैत्र शुक्ल प्रतिपदादेखि नै राक्षस नामको सम्वत्सर सुरु भई बिक्रम सम्बत् २०७८ सुरु भइसकेको छ । नयाँ वसन्त, नयाँ उत्साह, नवीन वर्षले नयाँ जोस र जाँगर प्राप्त रहोस्, सबै नेपाली स्वदेश वा विदेश जहाँ बसे रहे पनि वर्षभरि नै शुभ रहोस् भन्ने शुभ कामना अर्पण गर्दै संक्षेपमा यस वर्षका विषयमा चर्चा गर्ने यो लेखको उद्देश्य रहेको छ ।

श्री गणेशाय नमः । स जयति सिन्धुरवदनो देवो यत्पापंकजस्मरणम् । वासरमणिरिव तमसां राशीन्नाशयति विघ्नानाम् ।।
राक्षसाब्देखिला लोका राक्षसा इव निष्कृषा : । इन्द्रोपि न जलं दद्यात्सुभिक्षं नैव जायते ।। नलाब्दे मध्यसस्यार्घवृष्टिभिः प्रवरा धरा । नृपसंक्षेभसंजाता भूरितस्करभीतय : ।।

सुर्य उत्तरायण, वसन्तऋतु, चैत्र शुक्ल द्वितीया तिथि, भरणी नक्षत्र, प्रीति योग, कौलवकरण मंगलबार, रातको २९ः०१ प्रवादन कालमा सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्दै चैत्र मास सकिएर बैशाख महिना सुरु भई नयाँ वर्षको आरम्भ भएको छ । तिथि, बार, नक्षत्र, योग र करण मिलेर बनेको पन्चाङ्गको श्रवण मात्रैले पनि गंगास्नानको फल मिल्ने शास्त्रीय मान्यता रहेको छ ।

वर्षमा जम्मा ६० वटा सम्वत्सर हुन्छन्, क्रमिक परिवर्तन हुने क्रममा यो वर्ष आनन्द नामको वर्ष हुनु पर्नेमा त्यो सम्वत्सर क्षय भएका कारण अर्को सम्वत्सर राक्षस नामको हुनेछ, यसपालि । समयका कारण त्यसको पनि अल्प अवधि भई यसै वर्ष अर्को सम्वत्सर नल पनि यसै वर्ष सुरु हुनेछ । स्वभावैले राक्षसी प्रवृत्ति समाजमा देखिने हुन्छ भने कृषि उत्पादनमा थप समस्या देखिनेछ । यसको मुख्य कारण अल्प बृष्टि र खण्ड बृष्टि हुनेछ । त्यसो त विगतको तुलनामा वि सं २०७७ मा एक चौथाई मात्रै पानी परेको छ । चेत्रको दोस्रो सातापछि मौसममा देखिएको अप्रत्याशित परिवर्तनले मानिसमा ठूलै त्रास सिर्जना भएको छ, शैक्षिक संस्थाहरु बन्द हुन बाध्य भए भने दिउँसै अँध्यारो जस्तो, आँखा पोलेको, सास फेर्न गहारो भएको पीडा भोगियो र क्यान्सर जस्तो घातक रोगको थप संकेत देखा पर्न गयो ।

आउने वर्ष पनि विगतमा झैं  थप रोगको सम्भावना, बजार महँगीले समाज थप संकटमा रहने, राजनीतिकर्मी थप समस्यामा र बढी निर्दयी हुने देखिन्छन् । कोरोना त्रासमा बाँचेको अतित र विगत थप समस्यामा झेलिन बाध्य हुने देखिन्छ । चोर, फटाहाको विगतजस्तै समस्या हुने हुन्छ भने राज्य भनौँ सरकारी उदासिनताले आमजनता मारमा पर्ने देखिन्छन् । जब नल नामको सम्वत्सर सुरु हुन्छ, नेपाली समाजमा केही सकारात्मक झलक देखिने र वर्षाको सम्भावना बढ्ने हुन्छ ।

यो समय भनेको वर्षको अति उत्तराद्र्ध मात्रै हो । नयाँ वर्ष आरम्भ हुँदा यो युगको समय ४ लाख ३२ हजार वर्षमध्ये जम्मा ५ हजार १ सय २२ वर्षमा प्रवेश हुनेछ भने सृष्टिको क्रम भने १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय २२ वर्षमा हुनेछ । ६० समवत्सर घुमिरहने क्रममा भने राक्षस सम्वत्सर ४९ औँ हो । यो वर्ष ब्रह्माण्ड सन्चालक राजा र मन्त्री मंगल हुनेछन्, मंगल ग्रहलाई क्रुर र निर्दयी ग्रहका रुपमा लिइएकाले उसले आफ्नो स्वभाव देखाउने छ । भय, त्रास, चिन्ता, हिँसाका घटनामा संसारमा वृद्धि हुने देखिन्छ ।

मंगल अग्नि ग्रह हो, जसबाट आगलागि, चट्याँग, डँढेलो अल्प वृष्टिको बाहुल्यता हुन्छ । जनतामा त्रास, भय, कृषिमा पनि खासगरी दुग्ध पदार्थमा उत्पादनको कमी हुने देखिन्छ । ग्रह मध्ये शुक्र केही सकारात्मक भएकाले नयाँ धानको खेती, फलफूलमा वृद्धि, गहूँको उत्पादनमा पनि केही राहत मिल्ने देखिन्छ । तेलहनमा मूल्य वृद्धि हुने र मंगलकै कारण देशको सीमा सुरक्षामा पुरानो समस्या हल हुने देखिन्न । उत्पादनको कमी, निर्यातको कमी र आयातको वृद्धिले पहिले झैं  व्यापार घाटामा सुधार भइहाल्ने अवस्था देखँदैन । कार्यकारी शक्ति एउटैको हुने सम्भावना देखिन्छ, हाम्रो देशको परिवेशमा २०७७ मै सो देखिएकै हो ।

राशिगत रुपमा भन्नु पर्दा यो वर्षभरि शनि ग्रह मकर राशिमा हुनेछन् जसका कारण मिथुन र तुला राशि हुनेहरुलाई अढैया शनि दशा हुनेछ, कुम्भ राशिलाई आद्य साँढे साती दशा हुनेछ । मकर राशि हुनेलाई मध्य साँढे साती र धनु राशि हुनेलाई अन्त्य साँढे साती दशा हुनेछ । जन्म कुण्डलीमा शनि राम्रो स्थानमा बसेको भए शनिको प्रभाव पनि सकारात्मक पर्ने र दशाको प्रभाव राम्रो पनि हुन्छ । खराब स्थानमा बसेको भए दशाको प्रभाव नकारात्मक हुन्छ ।

साँढेसाती वा अढैया  हुँदैमा ग्लानी हुनु पर्ने अबस्था रहँदैन । सामान्यतया कुण्डलीमा ३,६,११ स्थानमा भएको शनिलाई राम्रो मानिन्छ । अन्यलाई बिसन्चो, आरोप, चिन्ता, नोक्सान गराउँने हुन्छ, त्यसको पनि उपचारको विधि शास्त्रले बताएको छ । केही गर्न नसके ॐ शनैश्चराय नमः १०८ मन्त्र जप्दै पिपलको फेदमा पानी हाल्दा हुन्छ । श्री गणेशको सेवा त सधैँ गनु पर्छ, नयाँ वर्षमा झन् गर्नै पर्छ ।

पिपलमा जल हाल्दा भन्नु पर्ने मन्त्र
मूलतो ब्रह्मरुपाय मध्यतो विष्णुरुपिणे ।
अग्रतः शिवरुपाय अश्वत्थाय नमो नम : ।।

समय शुद्धिको हिसाबले हेर्दा हाल शुक्र अस्त भइरहेको र वैशाख ५ गते आइतबार मात्रै शुक्र पश्चिममा उदय हुने हुँदा शुक्रको उदय नभएसम्म ठूला शुभ कर्महरु निषेध छ । अर्को कुरा यो वर्षको अर्को विषय के हो भने भाद्र शुक्ल पक्ष केवल १३ दिनको छ । प्रतिपदा र त्रयोदशी नहुनु यसको अर्को पक्ष हो जसले यो पक्षलाई विश्वघस्र पक्ष बनाएको छ । स्नानले तनशुद्धि, दानले धन शुद्धि, ध्यानले मनशुद्धि हुन्छ । दानमा महिना विशेष, समय विशेष तोकिएको छ ।

गाई, भूमि, तिल, बस्त्र, सुन, धान्यादि बस्तुहरुको दानले तन, मन, धन सबै पवित्र बन्छ । बैशाखमा जल र अन्नदानको महत्व बढी छ भने तप र पूजाको अधिक महत्व छ । स्नानले मात्रै पनि यी फल प्राप्त हुन्छन् । सकाम भावले स्नान गरे मनोरथ पूरा हुने र निस्काम भावले स्नान गरे जीवनमा परम गति प्राप्त हुन्छ । अन्य पुण्यकर्मले स्वर्ग प्राप्ति र पुण्य क्षीण भएपछि स्वर्गबाट फिर्ता हुनुपर्छ भने बैशाख स्नानबाट सदाको लागि दिव्यधाम प्राप्त हुने कुरामा शास्त्रहरुले गर्जन गरेका छन् ।

कलियुगमा सदा यज्ञ, हवनादि कार्य संभव हुँदैन । पर्व विशेषको तीर्थस्नानबाट यसको पूर्ति हुने कुरा शास्त्रहरुले पुष्टि गरेकाछन् । विभिन्न क्षेत्रहरुमा गरिने पुण्य कर्मले सत्य, त्रेता, द्धापर आदि युग विशेषमा मानवले गर्ने सत्कर्मको फल प्राप्त हुने हुन्छ । मानवजीवनको उषाकाल सत्ययुग हो, ज्ञानको आरम्भको समय त्रेतायुग हो । ज्ञानको प्रयोगको समय द्वापरयुग हो । कलियुग धर्म र कर्म दुवैको समय हो ।

व्यक्तिगत हिसाबले हेर्दा वैशाखमा मेष राशिलाई केही भ्रमण र अनाजको लाभ, वृषलाई अधिक खर्च, मिथुनलाई अधिक लाभ, कर्कटलाई नयाँ काम र सुख, सिंहलाई शरीरमा बाधा, कन्यालाई कष्ट, तुललाई भ्रमण, पाबिारिक सुख, वृश्चिकलाई शत्रु, रोग माथि विजय र लाभ, धनलाई कार्यसिद्धि, मकरलाई मनमा आँच, कुम्भलाई ऐश्वर्य प्राप्ति, मीन राशिलाई मनामा डर पैदा भई आर्थिक लाभ हुने देखिन्छ ।