हेमन्तप्रकाश वली, वैसाख ।
घोराही । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा राप्ती ब्यूरो इञ्चार्ज केशबहादुर बाँठामगर ‘सुबास’ले आफ्नो पार्टी दलाल पूँजीवादी संसदीय ब्यवस्थाको मतियार बनेर वार्तामा नआएको दावी गरेका छन् । उनले वार्ताको बारेमा भ्रम सिर्जना गर्ने र राजनीतिक अस्थिरता चाहनेहरुले आफूहरुलाई आत्मसमर्पन गरेर वार्तामा आएको जसरी प्रचार गरिरहेको भन्दै आक्रोश व्यक्त गरे ।
उनले पूँजीवादी व्यवस्थाले नेपाल र नेपालीको सपना र जीवन पराधिन बनाउँदै लगेको उनले बताए । अखिल क्रान्तिकारी दाङको २४औं जिल्ला सम्मेलनमा प्रमुख अतिथिको रुपमा बोल्दै नेता बाँठाले वैज्ञानिक, ब्यवहारिक र गुणस्तरीय शिक्षा पाउनका लागि विद्यार्थीहरु फेरि संघर्षमा जुट्नु पर्ने आवश्यकता परेको बताए । वैज्ञानिक र निःशुल्क शिक्षा दिनु राज्यको दायित्व भएको उनको भनाई छ ।
कार्यक्रमका विशिष्ट अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकले संविधानको मृत कागजमा लेखिएका केही शैक्षिक अधिकार पनि कार्यान्वयन नभएको बताए । उनले जबसम्म द्वैध शिक्षा प्रणाली खारेज हुँदैन तबसम्म आफूहरुको आन्दोलन चलिरहने बताए ।
उनले पूँजीपति वर्गका छोराछोरीले पढ्ने विद्यालय र श्रमजीवी वर्गका छोराछोरीले पढ्ने विद्यालय फरक कहिले सम्म हुन्छन् ? भन्ने प्रश्न गरे । उनले दुई वर्षको प्रतिबन्धमा नेता तथा कार्यकतालाई राज्यले गरेको गिरफ्तारी, जेलनेल, हिरासतबाट आफ्नो संगठन रत्तिभर नझुकेको बरु शैक्षिक आन्दोलन जुझारु बनेको जिकिर गरे ।
कार्यक्रममा जनपत्रकार संगठन नेपाल दाङका संयोजक हेमन्तप्रकाश वली, अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारी दाङका संयोजक सञ्जय वली, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) दाङका कार्यालय सदस्य गिरबहादुर महरा, युवा संगठन नेपाल राप्ती ब्यूरो इञ्चार्ज तिलक योगी, अखिल (क्रान्तिकारी) राप्ती ब्यूरो इञ्चार्ज दीपक विष्ट, नेकपा एमाले निकट अखिलका केन्द्रिय सदस्य बिराज डिसी, नेकपा दाङ जिल्ला सेक्रेटरी गणेश चौधरी लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको बन्द शत्रमा नेकपा राप्ती ब्युरो सदस्य सबिन पोख्रेलले प्रशिक्षणमूलक मन्तव्य राखेका थिए । उनले पूँजीवादी शिक्षा प्रणालीमा विद्यार्थीले प्राप्त गरेको सर्टिफिकेट सिरानीमा राखेर सुत्ने बाहेक अरु उपलब्धी नभएको जिकिर गरे ।
बन्दशत्रमा मन्तव्य राख्दै नेकपा दाङ जिल्ला इञ्चार्ज प्रदिप वलीले अखिल (क्रान्तिकारी) अन्य संगठनको पनि नेता संगठन भएको बताए । उनले नवनिर्वाचित कमिटीलाई बधाइ दिंदै आम युवा विद्यार्थीलाई एकीकृत जनक्रान्तिको झण्डामुनी गोलबन्द गर्न आह्वान गरे ।
अखिल (क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समिति सदस्य खुमन पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सामना साँस्कृतिक परिवार सहसंयोजक आरोह नेपालीले स्वागत गित प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य प्रीतिमा चौधरी, अखिल (क्रान्तिकारी) पूर्व केन्द्रिय सदस्य हेमन्त जिसी, युवा संगठन नेपाल दाङ संयोजक मनोज विक, मगर मुक्ति मोर्चा दाङ जिल्ला संयोजक सेबेन्द्र मगर, नेकपा नारायणी ब्यूरो सदस्य विकाश वलीको सहभागिता थियो । कार्यक्रमको अखिल (क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समिति सदस्य अमर खड्काले गरेका थिए ।
सो संगठनका दाङ जिल्ला सम्मेलन आयोजक समिति संयोजक अनिल केसीको अध्यक्षतामा भएको कार्यक्रमले अमर खड्काको नेतृत्व ३१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।