• मंसिर १४ २०८१, शुक्रबार

पद गुमेपनि बादल पुन : गृहमन्त्री बन्दै

बैशाख ५ २०७८, आईतवार

काठमाडौँ। राष्ट्रिय सभा सांसद र मन्त्री पद दुवै गुमाएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ लिन लागेका छन्।

राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै उनी गृहमन्त्रीबाट पद पदमुक्त भएका थिए । लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन् ।

थापाको साँझ ५ बजे राष्ट्रपति भवनमा शपथग्रहण हुने तय भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

२३ फागुनमा नेकपा बदर गर्ने सर्वाेच्च अदालतको फैसलापछि एमालेमा लागेका उनको पद रिक्त गराउन माओवादी केन्द्रले लिखित पत्र दिएको थियो । संसद सचिवालयले आइतबार विहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको हाे ।

थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बनेका थिए । यसअघि माओवादीले प्रतिनिधिसभाका चारजना सदस्य एमालेमा प्रवेश गरेपछि उनीहरूकाे पद पनि खाेसेकाे थियाे ।

संविधानको नियमअनुसार सांसद पद गुमे पनि प्रधानमन्त्री ओलीले उनीहरूलाई फेरि ६ महिनाका लागि मन्त्री बनाएका छन् । त्यहीँ नियमबमोजिम बादललाई पनि प्रधानमन्त्रीले पुनः मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र आजै साँझ शपथ ग्रहणको कार्यक्रम तय गरिएको सूर्य थापाले जानकारी दिएका छन् ।