• बैशाख १९ २०८३, शनिबार

कोरोना अघिअघि हामी पछिपछि छौं, बच्चाबच्चीको निगरानी गरौंः स्वास्थ्य राज्यमन्त्री

बैशाख ४ २०७८, शनिबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले तत्काल सरकार बन्दाबन्दी गर्ने मुडमा नरहेको बताएका छन् । राजधानी काठमाडौँमा शनिबार आयोजित एक अन्तरसंवाद कार्यक्रममा बोल्दै राज्यमन्त्री रावतले सो कुरा बताएका हुन् । संवाद डबली काठमाडौँले आयोजना गरेको कोरोना भाइरसको युके प्रजातिको नयाँ असर र तयारी बारेको अन्तरसंवाद कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै रावतले सरकार तत्काल बन्दाबन्दी गर्ने मनस्थितिमा नरहेको धारणा बाहिर ल्याएका हुन् ।

राज्यमन्त्रि नवराज रावत
राज्यमन्त्रि नवराज रावत

सरकारले गरेको विगतको बन्दाबन्दीको समयमा नागरिकले नै रोगले भन्दा भोकले मर्ने अवस्था आयो भन्दै आवाज उठाएकोले सरकार तत्काल बन्दाबन्दी नगर्ने मुडमा गएको उनको भनाई थियो । नेपाल कोरोना रोकथाममा सफल हुँदै गएको बताउँदै पहिलो कोरोना परिक्षण विदेश पठाउनु परेको अवस्था थियो भने अहिले नेपालमा ८५ भन्दा बढी कोरोना परिक्षण गर्ने प्रयोगशाला स्थापना भएको उनले बताए । बन्दाबन्दी नगरेपनि विज्ञहरुको कुरा सुनेर स्वास्थ्य मापदण्ड सबैले पालन गर्नुपर्ने धारणा व्यक्त गर्दै मन्त्री रावतले देशमा स्वास्थ्य जनशक्ति कम भएपनि दक्ष रहेको जिकिर गरे ।

नयाँ युके प्रजातिको कोरोना भाइरसले बालबालिकालाई बढी असर गर्ने भन्ने कुरा बाहिर आएको हुनाले शिक्षण संस्था बन्द गरेर अनलाइन कक्षा संचालन गर्न भनेर सरकारले सरकारी शिक्षण संस्थालाई भने भनिसकेको समेत उनले बताए । बालबालिकाबाट जेष्ठ नागरिकमा भाइरस सजिलै पुग्ने भएको हुनाले पनि यो विषयमा सबै गम्भीर हुनपर्ने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले कोरोना भाइरस मानिसको चेतना भन्दा अगाडी भएको धारणा व्यक्त गरे । कोरोना भाइरस अघिअघि र हामी पछिपछि हिंडिरहेको अवस्था अहिले रहेको उनको भनाई थियो । अरु प्रजातिको कोरोना भन्दा युके प्रजातिको कोरोना बढी शक्तिशाली भएको भन्दै बालबालिकालाई यो रोग लाग्यो भने रोकथाम गर्न गाह्रो हुने उनले बताए । बालबालिकालाई यो रोग लागिहाल्यो भने नेपालका बाल अस्पतालका संख्या र बालबालिकाका चिकित्सकहरुको संख्याले रोकथाम गर्न मुस्किल हुने उनले बताए ।

डा.शेर बहादुर पुन
डा.शेर बहादुर पुन

‘अब बच्चाहरुको बारेमा सोच्नुपर्छ र सतर्कता अपनाउनु पर्छ’ उनको भनाई थियो । पछिल्लो चरणमा फैलिएका कोरोनाका प्रजातिमध्य ब्राजिल प्रजाति, युके प्रजाति र दक्षिण अफ्रिकी प्रजाति सबै भन्दा शक्तिशाली रुपमा देखा परेको समेत उनले बताए । दक्षिण अफ्रिकी प्रजातिको कोरोना भाइरस नेपालमा भित्रियो भने त्यो झन् खतरा हुने डा. पुनको विचार रहेको छ । दक्षिण अफ्रिकी प्रजातिको कोरोना भाइरसले कोरोना विरुद्धको खोप कोभिशिल्डलाई समेत निस्क्रिय बनाउने भएकोले हामि झन् बढी सतर्क हुनुपर्ने उनले बताए । गहिरिएर अनुसन्धान गरियो भने नेपालमै समेत नयाँ प्रजातिको कोरोना भाइरस निस्कन सक्ने सम्भावना उनले औंल्याए ।

अन्तरसंवाद कार्यक्रममा बोल्दै स्वास्थ्य विज्ञान व्यवसायी संघका केन्द्रिय अध्यक्ष नवराज बस्नेतले नेपाल अहिले मास्क र सेनिटाइजरमा आत्मनिर्भर भइसकेको विचार व्यक्त गरे । कोरोना रोकथामको लागि प्रभावकारी कार्ययोजना बनाउन सरकारले स्वास्थ्य विज्ञ सहितको अनुगमन समूह बनाउनुपर्ने उनको सुझाव थियो । सिमेन्ट र सरिया व्यवसायी समेत अहिले स्वास्थ्य व्यवसाय गर्न आएकोले यसको गतिलो निगरानी हुनुपर्ने समेत बस्नेतको धारणा थियो ।

नवराज बस्नेत
नवराज बस्नेत

कार्यक्रम डबलीका अध्यक्ष दिपेन्द्र रावलको अध्यक्षतामा भएको थियो भने धनञ्जय बुढाले संचालन गरेका थिए ।