• बैशाख १९ २०८३, शनिबार

पत्रकारलाई मानसिक यातना दिने र मिडिया हाउसमा खानतलासी गर्ने कार्य निन्दनीय छ : क्रान्तिकारी

बैशाख ४ २०७८, शनिबार

काठमाडौं । क्रान्तिकारी पत्रकार संगठनले उज्यालो नेटवर्कमा प्रहरीले खानतलासी गरी पत्रकारलाई मानसिक यातना दिने र धरपकड गर्ने कार्यको विरोध जनाएको छ । उज्यालो नेटवर्क मिडियाले प्रम केपी ओली र भारतीय गुप्तचर सामन्त गोयलका बीचमा भएको भनिएको ४ बुँदे सहमति सार्वजनिक गरेका कारण प्रहरीले खानतलासी र धरपकड गरेको हो ।

क्रानितकारी पत्रकार संगठनले आज एक विज्ञप्ति मार्फत् मडिया हाउसमा काम गर्ने पत्रकारलाई मानसिक यातना दिनु गलत कार्य भएको जनाएको छ । सो संगठनका कार्यवाहक अध्यक्ष दीपबहादुर घर्ती र महासचिव बाबुराम भूसालद्धारा जारी विज्ञप्तिमा यस्तो विरोध जनाइएको हो ।

‘प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस विंग (रअ) प्रमुख सामन्तकुमार गोयलको बीचमा मिति २०७७ कार्तिक ५ गते भएको गोप्य चारबुँदे सहमतिको विषयमा समाचार प्रकाशित गरेपछि उज्यालो नेटवर्कका प्रधान सम्पादक बुद्ध लोप्चन, कार्यकारी सम्पादक अनिस तामाङ र समाचार दैनिकका प्रधान सम्पादक तथा संचालक वाशुदेव शर्मा (बबिन) को कार्यालयमा प्रहरी प्रशासनले गरेको खानतलासी र मानसिक यातना दिएको घटनाप्रति क्रान्तिकारी पत्रकार संगठन, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राज्यको महत्वपूर्ण तथा चौथो अंग सञ्चार क्षेत्रमाथि भएको सरकारको आक्रमण लोकतान्त्रिक मूल्य मान्यतामाथिको हमला मात्र नभई ओली नेतृत्वको सरकारको फासिवादी अभ्यासको ताण्डप नृत्य पनि हो । नेपालको संविधान २०७२ मा व्यवस्थित भएको सूचना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकविरुद्ध दिन प्रतिदिन अनुदार बन्दै गएको पुष्टि भएको छ ।’

विज्ञप्तिमा भनिएको छ,‘समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिल मार्फत् कानूनी रुपमा विषय निरुपण गर्ने वैधानिक मार्ग छदाँछँदै जबरजस्त रुपमा प्रेसको घाँटी निमोठ्ने र पत्रकारलाई आतंकित गर्ने कार्य निन्दनीय छ । तसर्थ यस किसिमका सूचना, अभिव्यक्ति तथा प्रकाशन हक विरोधी हर्कत बन्द गर्न र प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गर्दछौँ ।’