• बैशाख १९ २०८३, शनिबार

बाँकेमा सडक दुर्घटना : ५ जनाको मृत्यु ४१ घाइते

बैशाख ३ २०७८, शुक्रबार

नेपालगञ्ज । बाँकेमा शुक्रबार बेलुकी भएको सडक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् । ती मध्ये सात जनाको अवस्था गम्भीर रहेको छ ।
सुर्खेतबाट काठमाडौंतर्फ जादै गरेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नचढाइएको (अनटेस्ट) टिपर कोहलपुर चपरगौढी नजिकै एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

बेलुकी ६ बजे भएको सो दुर्घटनामा परी टीपरका चालकसहित दुई जना र बसमा सवार तीन जना गरी पाँच जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालका अनुसार कोहलपुर चप्पर गौडीस्थित नेपाली सेनाको चेकपोष्टदेखी करिव एक किलोमिटर पुर्व जंगलमा उक्त दुर्घटना भएको हो । डिएसपी खनालले घाइतेहरू मध्ये सात जना गम्भीर १४ जना मध्यम र २० जना सामान्य रहेको बताए ।

घाईते सबैलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको उनले बताए । दुर्घटनाको खबर पुगे लगत्तै कोहलपुरबाट गएको प्रहरीले क्रेनको सहयोगले घाइतेहरुको उद्धार गरेको थियो ।