काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हित विपरितका गतिविधिमा लागेको आरोप लगाएका छन् । शुक्रबार ‘बागमती प्रदेश कँराते च्याम्पियनसिप–२०२१’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीले देशलाई बन्धकी राखेर राष्ट्र हितविपरित गतिविधि गरेको बताए ।
प्रधानमन्त्री राष्ट्रिय हित विपरितका गतिविधिमा संलग्न भएको खबरहरु आएको भन्दै उनले सो खबरले नेपालीको इज्जत, प्रतिष्ठा र राष्ट्रिय स्वाधिनतामाथि प्रश्न चिन्ह खडा गर्ने दुस्साहस भएको बताए । नेपालीहरुलाई राष्ट्रहित विरोधी षडयन्त्र स्वीकार नभएको पनि अध्यक्ष दाहालले बताए ।
‘तानाशाही र निरङ्कुश शक्तिहरु एकचोटी परास्त भए तर तिनीहरु पुरै परास्त अझै भएका छैनन् । उनीहरुको कसरत, षड्यन्त्र नेपाल र नेपाली जनताका विरुद्ध चलिराखेको छ । देशलाई बन्धकी राख्ने, राष्ट्रिय हितका विपरित गतिविधि गर्ने काममा स्वयं सरकारका नेतृत्व गर्ने प्रमुखहरु नै लागेका खबरहरुले नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा, उनीहरुको आत्मसम्मान र राष्ट्रिय स्वाधिनतामाथि प्रश्नचिन्ह खडा गर्ने दुस्साहस भएको छ । तर सचेत नेपाली जनता, स्वस्थ नेपाली जनता, बलिष्ठ नेपाली जनतालाई यि सबै षड्यन्त्र स्वीकार्य छैन ।’ उनले भने