सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।
प्रदेश सरकारमा सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन् ।
माओवादी संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले बिहीबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शाहीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई अपिल गरेकी हुन् ।
कर्णालीमा संसद्को अंकगणित हेर्दा मुख्यमन्त्री शाहीका लागि अनुकूल छैन । ३९ सदस्यीय प्रदेशसभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । वर्तमान सरकारको निरन्तरताका लागि मुख्यमन्त्रीलाई २० जना सांसदको समर्थन आवश्यक पर्छ । यो अवस्थामा एमालेका सांसदको मत पाएमात्रै मुख्यमन्त्री जोगिने छन् ।