• मंसिर १० २०८१, सोमबार

बेलायतमा एकैदिन थपिए दुई हजार कोरोना संक्रमित

बैशाख ३ २०७८, शुक्रबार

लण्डन । बेलायतमा बितेको २४ घन्टामा दुई हजार छ सय ७२ जना नयाँ संक्रमित थपिएको समाचार छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सो कुराको जानकारी दिएको हो । यससँगै बेलायतमा संक्रमितको संख्या ४३ लाख ८० हजार ९७६ पुगेको छ । इंग्ल्याण्डमा तीन महिना भन्दा लामो लकडाउन गत सोमबारबाट खुल्ला गरिएको छ ।

लकडाउनका कारण संक्रमण दरमा कमि आएको र लकडाउनपछि पुनः संक्रमण बढ्न सक्ने धेरैको अनुमान छ । बेलायतमा सक्रिय संक्रमितको संख्या एक लाख ४० हजार ४४७ छ भने ४१ लाख १३ हजार ३३८ संक्रमित निको भइसकेको वल्र्ड ओमिटरको तथ्यांकमा उल्लेख छ । यसैगरी पछिल्लो २४ घन्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार १९१ पुगेको छ । कोरोना संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये अमेरिका, ब्राजिल, मेक्सिको, भारतपछि बेलायत पाँचौं स्थानमा छ । अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि कमि आएको छ ।

बिहीबार सार्वजनिक तथ्याँक अनुसार हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ३५१ छ । त्यस्तै, पछिल्लो २४ घन्टामा २०१ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या दुई हजार ३९३ मा झरेको छ । बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि चार करोड ९ लाख ५८ हजार ३०३ डोज वितरण भएको छ । तीन करोड २४ लाख ४४ हजार ४३९ जनाले खोपको पहिलो र ८५ लाख १३ हजार ८६४ जनाले खोपको दोस्रो डोज लिएका छन् ।