पोखरा। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । बिहीबार गण्डकी प्रदेशसभा सचिवालयमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी दलका सांसदले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ । अविश्वास प्रस्तावको पक्षमा २८ जना सांसदको हस्ताक्षर छ । जसमा कांग्रेसका १४, माओवादीका ११ र जनता समाजवादी पार्टीका दुई जना सांसद छन् ।
बुधबार राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री गुरुङ नेतृत्वको गण्डकीलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेश सरकारको राजनीतिमा तरंग आएको थियो । अविश्वासको प्रस्ताव आउने निश्चित भएसँगै बुधबार राति नै मुख्यमन्त्री गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गरिसकेका छन् ।