• मंसिर १३ २०८१, बिहीबार

राष्ट्रिय जनमोर्चाद्वारा गण्डकी प्रदेश सरकारका विरुद्ध आउने अविश्वासको प्रस्तावलाई समर्थन

बैशाख १ २०७८, बुधबार

काठमाडौं ।  राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थनबारे आफ्नो निर्णय सार्वजनिक गरेको छ ।

आज एक प्रेस वक्तव्य जारी गर्दै जनमोर्चाले प्रधानमन्त्री केपी ओलीको कार्यशैलीको विरोध गर्दै आएको जनाएको छ । असंवैधानिक तरिकाले संसदको विघटन गरेपछि जनमोर्चाले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको जनाउँदै गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई समर्थन गर्ने जनाएको हो ।

वक्तव्यमा भनिएको छ,-`केन्द्रमा हामीले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रदेशहरुमा नेकपा र पछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेका सरकारहरुलाई दिएको समर्थन कायमै राखेका थियौँ । त्यसको अर्थ हामीले बामपन्थीको सरकारमा जोड दिएका हौँ । गण्डकी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) अलग भएको स्थितिमा त्यहाँ ओली पक्षको मात्र सरकार हुन्छ । साविकको स्थितिमा परिवर्तन हुन्छ । गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ । त्यसका क्रियाकलापहरुले पनि प्रतिगमनलाई मद्दत पुग्छ । त्यसकारण गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ । मुख्य मन्त्रीमा माओवादी केन्द्र र ने.का. जुन आए पनि त्यो उनीहरु बीच बन्ने समिकरणको कुरा हो । त्यसमा हाम्रो समर्थन रहने छ । तर त्यो सरकारमा हामी भने सहभागी हुने छैनौँ ।´