काठमाडौं । निर्वाचन आयोगले नेपाली नागरिकता प्राप्त गरेर पनि मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी व्यक्तिलाई जिल्ला निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरेको छ ।
नयाँ वर्ष २०७८ का अवसरमा समस्त मतदातामा शुुभकामना व्यक्त गर्दै आयोगले नागरिकता प्राप्त गर्नासाथ निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा समेत नाम दर्ता गराउन आयोगले आग्रह गरेको हो ।
आयोगले नागरिकता प्राप्त गरिसकेर पनि मतदाता नामावलीमा नाम समावेश नभएका नागरिकलाई नाम दर्र्ता गर्न उत्प्रेरित र सहजीकरण गर्न स्थानीय तहको ध्यानाकर्षण गराएको छ ।
जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावलीका लागि निरन्तर रुपमा नाम दर्ता भइरहेको जनाउँदै आयोगले राजनीतिक दललाई आफ्ना जिल्ला र स्थानीय सङ्गठनलाई त्यसबारे प्रचारप्रसार गरी सहयोग र सहजीकरण गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको छ ।
मतदाता नामावली ऐन २०७३ ले तोकिएको योग्यता पूरा भएका नागरिकको नाम र फोटोसहितको मतदाता नामावलीमा दर्ता गर्ने व्यवस्था मिलाउन आयोगलाई जिम्मेवारी दिएको छ ।
मुलुुकका ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावलीमा नाम सङ्कलन गर्ने कार्य निरन्तर रुपमा गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।