• मंसिर १२ २०८१, बुधबार

मोटरसाइकल शान कि सास्ती : दुइदुईजना पालेले दिक्क मानेर जागीरै छाडे !

बैशाख १ २०७८, बुधबार

ट्राफिकमा सबैभन्दा बढी समस्या आजकल अनगिन्ति मोटरसाइकल चालकले गरिरहेका छन् । उनीहरुले विपरीत दिशाबाट आउने गाडीलाई समेत ओभर टेक गर्ने, अलिकति खाली ठाउँ देख्नाससाथ जबर्जस्ती मोटरसाइकल घुसाउने, बटुवाहरुलाई घचेट्र्दै सडकपेटीबाट हुइँक्याउने लगायतका क्रियाकलाप गरी ट्राफिक स्थितिलाई झन् नाजुक अवस्थामा पुर्याइदिएका छन् । मोटरसाइकल चालकको गतिविधि देख्दा यस्तो लाग्छ, सहरमा उनीहरुलाई जस्तो हतारो अरु कसैलाई पनि छैन । यस्ता प्रवृत्तिलाई नियन्त्रण गर्नका लागि जुन बेलासम्म हामीमा विवेक आउँदैन, कानुनले मात्र केही गर्न सक्दैन ।

साँगुरो बाटोमा मोटरसाइकल पार्किङ गरिदिँदा त्यहाँ ट्राफिक जाम हुने मात्र होइन, सर्वसाधरणलाई आवतजावत गर्नसमेत मर्का परिरहेको हुन्छ । तपाईको घर गल्लीभित्र छ भने त यसको कटु अनुभव तपाईलाई अवश्य पनि होला । मलाई त सधैं टेन्सन छ । घरसँगै एउटा कोकाकोला पसल छ, त्यसैसँग एउटा एयरलाइन्सको अफिस । घर पस्न मूल सडकबाट १० फिटको गल्ली छ । गल्लीमा ठूलाठूला अक्षरमा ‘पार्किङ मनाही छ’ भनेर लेखिएको छ । पढ्न नजान्नेका लागि मोटर साइकलको तस्वीर राखेर क्रस चिन्हले देखाइएको छ । तैपनि गल्लीमा सधैं मोटरसाइकल राखिएको हुन्छ । हरेक दिन हटाउनु पर्छ ।

मोटर साइकल हटाउन मात्र मैले पाले राखे । दुईजना पालेले त दिक्क भएर जागीरै छाडे । कतिचोटी झगडा गर्नु ? मोटर साइकललाई पञ्चर गरिदिउँ भने झगडा गर्न आउँछन् भन्ने डर ! यहाँ नराख भन्यो भने ‘एकै क्षण त हो नि’ भन्छन् । गाडीमा ड्राइभर छ भने त समस्या हुँदैन, तर ड्राइभर छैन भने समस्या हुन्छ । आफै गाडीबाट ओर्लेर मोटर साइकल हटाउनु पर्छै । सँगैको पसलका साहुलाई पनि कति चोटी भने । तपाईका ग्राहकलाई बाटामा मोटरसाइकल पार्किङ गर्न नदिनोस् भनेर । उनीहरुले सुनेको नसुन्यै गरे झैं व्यवहार गर्छन् । कहिलेकाँही ‘के गर्नु मान्दै मान्दैनन्’ भन्छन् ।

एक दिन त मलाई असाध्यै रिस उठ्यो । घर पस्ने मूल बाटोमै मोटरसाइकल पार्किङ गरिएको रहेछ, त्यो पनि मज्जाले साँचो लगाएर । सडकबाट घर पस्न अलिक राउण्ड लिनु पर्छ । त्यो बेलामा ड्राइभर थिएन । मेरोपालो गाडीलाई बीच बाटोमै रोकिराखे । ट्राफि पुलिस मलाई गाडी हटाउन भन्न आए । मैले भने ‘हेर भाइ, मेरो घर त्यहि अगाडिको हो । त्यो मोटर साइकलले मेरो बाटो छेकिरहेको छ । त्यसमा साँचो पनि लगाइएको छ । त्यो मोटरसाइकलवालालाई तिमीले केही गर्नुपर्यो नि त ।’

 

मैले बाटो रोकिसकेपछि थुप्रै गाडी जाममा फसिसकेका थिए । पुलिसले मोटर साइकलको मालिकलाई खोज्न थाले । मालिक त कहाँ हो कहाँ ? पाँच मिनेटपछि दुईजना केटाहरु आइपुगे, निलो जिन्स लगाएका । रातो र पहेंलो धर्के टीसर्ट लगाएका अनि घाँटीमा रुपमाल बाँधेका पनि । झ्वाट्ट हेर्दा ५०÷५५ किलो तौलका ती मानिस सवार हुने मोटरसाइकल भने ३०० सीसीको बडेमानको थियो । शायद तिनीहरुले आमाबाबालाई थर्काएर जग्गा बेच्न लगाई मोटरसाइकल किनेको हुनु पर्छ । मोटर साइकलका कारण सारा चोक जाम भैरहेको थियो ।

तर केटाहरुलाई कुनै पनि ग्लानी थिएन । बस् फिल्मका हिरोहरुले झैं चुइंगम चपाउँदै मोटरसाइकलमा शानसँग बसे । अनि एकै क्षणमा मोटर साइकल घुमाउँदै हुइँकिएर गइहाले ।

(स्रोत : कर्ण शाक्य कृत खोज, निरन्तर प्रयास र प्रक्रियाबाट)