काठमाडौं । बूढानीलकण्ठस्थित देउवा निवासमा प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
जारी भेटवार्तामा सत्ता समीकरण, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भइरहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उनका अनुसार भेटमा उपेन्द्रसहित जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि सहभागी छन् ।
यसअघि कांग्रेस केन्द्रीय समितिको बैठकले आफ्नै नेतृत्वमा सरकारका लागि पहल गर्ने निर्णय गरेको थियो । कांग्रेसले माओवादी केन्द्र र जसपासँग पनि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रस्ताव यसअघि बसेको तीन दलको बैठकमा राखेको थियो । कांग्रेसले नयाँ सरकार गठनका विषयमा औपचारिक निर्णय गर्न जसपालाई आग्रह पनि उक्त बैठकमा गरेको थियो ।
केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन गर्ने विषयमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच पछिल्लो समय छलफल भइरहेको छ । तर, जसपाले सरकारबारेको धारणा स्पष्ट नपार्दा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन सकेको छैन ।
जसपाभित्र ओली नेतृत्वको सरकारमा सहभागी हुने वा एमालेइतर दलको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने भन्ने विषयमा मतान्तर कायमै छ । अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ओलीलाई साथ दिएर अघि बढ्ने पक्षमा छन् भने अध्यक्ष यादव र भट्टराई ओलीको विकल्प तत्काल खोज्नु पर्ने अडानमा छन् ।