नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न नहुने बताएका छन् ।
अखिल नेपाल महिला संघ प्रदेश नं २ द्वारा आज सोमबार जनकपुरधाममा आयोजित प्रदेशस्तरीय भेलामा नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकपक्षीय रुपमा सञ्चालन गरेको आरोप लगाए । पार्टीमा भेदभाव बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
“पार्टीभित्र आलोचना सुन्ने र सुझावलाई अङ्गीकार गरी गल्ती स्वीकार गरेर अघि बढ्नु पर्छ”, नेता नेपालले भने । देशमा सबैभन्दा राम्रो पार्टी कम्युनिष्ट पार्टी भए पनि पछिल्लो समय पार्टीमा संकट बढ्दै गएको उनको भनाइ थियो ।