काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरूको बैठक बोलाएका छन् । आइतबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको हो । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्दैछ ।
‘१४औं महाधिवेशनलगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो,’ उनले भने । सोमबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक राखिएको हो । कांग्रेसले १४औं महाधिवेशन भदौ ७ देखि गर्ने कार्यतालिका बनाएको छ । अहिलेसम्म ७१ जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणका काम भइरहेका छन् ।
बाँकी जिल्लामा पनि क्रियाशीलको काम सुरू गर्ने तयारीमा कांग्रेस छ । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने गृहकार्य पनि थालेको छ । गत चैत २० को केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीबाट केपी ओलीको राजीनामा माग गर्ने र सरकार बनाउन अग्रसरता देखाउने निर्णय गरेको थियो । गत शुक्रबार सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा माओवादी केन्द्र र जसपाका शीर्ष नेतासँग कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने र समर्थन गर्न आग्रह गरेका थिए । जसपाले पार्टीमा छलफल गर्न भन्दै समय मागेको छ ।