काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरेका छन् । चाँडै नै नयाँ सरकार गठन हुने संभावना बढेर गएकाले उनले ओली सरकारको आयु धेरै नरहेको दाबी उनको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति चौथो केन्द्रीय परिषद्को कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त कुरा बताएका हुन् । नयाँ सरकार बनेमा ओलीले नेपाली आकाशमा लगाउन लागेको कालो बादल हटेर जाने बताएका छन् ।
उनको दाबा थियो– ‘अब चाँडै नयाँ सरकार गठन हुन्छ, त्यसका लागि सरकारको नेतृत्व कसले गर्छ भन्ने कुरा ठूलो होइन । कुरो प्रधानमन्त्री को हुने वा कसको हुने भन्दा पनि सरकार संविधानअनुसार चल्ने हुनुपर्छ, अब ओली सरकार धेरै दिन टिक्दैन ।’
सम्बोधनका क्रममा प्रचण्डले ओली सरकारले संविधान मिच्ने प्रयास गर्दै र संविधानको मर्म र भावना विपरीत काम गर्दै आएकाले प्रम ओलीलाई एकैक्षण भए पनि पदमा रहिराख्न दिनु नहुने बताए । देशमा ठूलो परिवर्तनका लागि आफूहरुले संयुक्त आन्दोलन गरेको तर भनेजस्तो उपलब्धी हासिल हुन नसके पनि सिमित मात्रामा भएको उपलब्धिलाई पनि ओलीले मिच्ने, थिच्ने र सिध्याउने गर्न थालेकाले अबका दिनमा आफूहरु आन्दोलनमा जान थालेको कुरा खुलासा गरे । उनले थपेका थिए– ‘यदि संविधान मिच्ने प्रयास निरन्तर भइरहेमा केही समय पछि हामी विद्रोहमा जानुपर्ने हुन सक्छ, त्यो एक शान्तिपूर्ण विद्रोह हुने छ ।’
प्रम ओलीले नैतिकताको आधारमा राजीनामा दिन नमानेपछिको अवस्थामा वैकल्पिक सरकार निर्माणको प्रयास गर्ने र त्यो पनि नभएपछि आफूहरु विद्रोहमा जाने उनको तर्क रहेको छ । ओलीलाई उनले ठाडै भने– ‘संसदीय दलको नेताबाट हटेपछि प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने थियो ।’ सर्वोच्च अदालतको पार्टी पुनस्र्थापनाप्रति कटाक्ष गर्दै उनले ओलीतिर झटारो हाने– ‘पार्टी सदस्यबाट हटाइएको मान्छेलाई फेरि पार्टी अध्यक्षमा फर्काइदियो, यस्तो विचित्रको निर्णय अरू कही पनि हुँदैन, कस कसको र कहाँ कहाँको सेटिङ हो यो ?’
उनको निष्कर्ष थियो– आखिर जे भए पनि संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट भएर आन्दोलनमा जानुको विकल्प छैन ।