काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यैपनि लकडाउनमा नजाने बताए ।
उनले लकडाउन भन्दा अगाडी गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरु चाल्न सरकार तयार रहेको बताए । लकडाउनले कोभिड नियन्त्रण गर्न कम हुने भएपनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दिर्घकालिन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको उनको भनाइ छ ।
“हामी यो चाहँदैनौं कि नेपाल फेरिपनि लकडाउनको अवस्थामा जाओस् । लकडाउनभन्दा अगाडि जति महत्वपूर्ण र प्रभावकारी कदमहरू छन् सरकार ती सबै कदमहरू चाल्न तयार छ र त्यसको तयारी गरिरहेको छ,” उनले भने ।
मन्त्री त्रिपाठीले छिमेकी मुलुकमा कोभिडको नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टिजेन परीक्षण सुरु गरेको पनि जानकारी दिए । यस्तै सीमा नाकामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्ने काम भइरहेको बताउँदै उनले कोभिडका कारण आतंकित नहुन पनि आग्रह गरे ।
मन्त्री त्रिपाठीले अहिले विश्वभर ८१ प्रकृतिका खोप विकसित भइरहेको र त्यसमध्ये १३ वटा खोपहरू प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि ३ किसिमका खोपलाई मान्यता दिएर प्रचलनमा ल्याएको बताए । उनले चीन सरकारबाट अनुदानमा उपलब्ध कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान बुधबारदेखि सुरु हुनेपनि जानकारी दिए ।