काठमाडौँ ,नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले समर्थन फिर्ता गरेर देखाउन चुनौती दिएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद् बाँस्कोटाले सरकार कामचलाउ भएको भन्नेहरुमाथि समर्थन फिर्ता गरेर देखाउन चुनौती दिए ।
उनले भने ‘सरकार कामचलाउ के भन्या ? कसरी हुन्छ कामचलाउ ? अहिले गठन भएको जगभित्र के छ ?,’ बाँस्कोटाले भने,’समर्थन आफू गर्ने फिर्ता लिन नसक्ने ! अर्को सरकार बनाउनका निम्ति एकदलीय दुई दलीय तीन दलीय बनाउने भन्ने एजेण्डा प्रस्तुत गर्न नसक्ने अनि कसरी काम चलाउ भयो ? ‘
सरकार कामचलाउ हुनलाई माओवादी केन्द्रले विश्वासको मत झिक्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘समर्थन फिर्ता लिनुस् त्यसपछि अर्को विषयको सुरुवात हुन्छ । आफैं अड्काउने आफैं पड्काउने के गर्ने हो आफैं गर्नुस् । राजनीतिक मुद्दा लिएर जनतामा जान सबै खुला छन् । ‘
‘जनताका बीचमा जानु प्रतिगमन हुन्छ भने अग्रगमन के हुन्छ ?,’ उनले भने,’द्वन्द्वकालमा शाही शासनकालसँग छलफल गरेको अग्रगमन हो ?’