• मंसिर १० २०८१, सोमबार

नेपाल समूहले काठमाडौंमा पनि बनायो समानान्तर समिति

चैत्र २३ २०७७, सोमबार

काठमाडौं । एमालेको माधव नेपाल समूहले काठमाडौंमा पनि समानान्तर कमिटी गठन गरेको छ ।
आइतबार जिल्ला स्तरीय वृहत कार्यकर्ता भेलाले वसन्त मानन्धरको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो ।

कमिटीको उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसुम कार्की र सह–सचिवमा एलपी श्रेष्ठ चयन भएका छन् ।
साथै, एमाले जिल्ला काठमाडौंको सदस्यमा लव बस्नेत, उपेन्द्र पौडेल, ध्रुवराज न्यौपाने, हरिराम ढुङ्गाना, शम्भु दुलाल, प्रदिप केसी, उदयराज तिमल्सिना, अमला श्रेष्ठ, मित्रा मैनाली, नारायणकुमार श्रेष्ठ, नारायण गमाल, लक्ष्मण बिडारी, माधव तिमल्सिना, राजु बस्नेत, सुमन श्रेष्ठ, अर्जुनलाल प्रधान, सन्जु महर्जन, केशव श्रेष्ठ, अशोक थापा लगायत छनौट भएका छन् ।

करिब एक हजार कार्यकर्ताहरूको सहभागिता रहेको भेलालाई वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालले सम्बोधन गरेका थिए । उनीहरुले ओलीले कम्युनिष्ट पार्टीलाई बिसर्जन गर्न लागेकाले आफूहरुले जोगाउने प्रयास स्वरुप पार्टी जागरण अभियान थालेको बताए । बागमती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले ओली कम्युनिष्ट इतिहासका नालायक पात्र भएको बताइन् ।

नेपाल समूहले यसअघि अर्घाखाँची, कास्की, उदयपुर, पर्वत, स्याङजा, तनहुँ लगायतका जिल्लामा समानान्तर संगठन विस्तार गरिसकेको छ । त्यस्तै, अखिल नेपाल महिला संघ, युवा संघ, खेलकुद महासंघ, मुक्ति समाज लगायतका जनवर्गीय संगठनहरुमा नेपाल समूहले समानान्तर संगठन निर्माण गरिसकेको छ ।