काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमालेका वरिष्ठ नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ । एमालेमा चरम विवाद भइरहेका बेला उनीहरुकाबीचमा एकता जोगाउने बारेमा छलफल भएको बताइएको छ । शनिबार नेता खनालको निवास डल्लुमा राष्ट्रपति भण्डारी र खनालबीच करिब एक घण्टासम्म भएको भेटवार्तामा राष्ट्रपतिले नेता खनाललाई पार्टी एकता जोगाउन पहल गर्न आग्रह गरेको श्रोतले बताएको छ ।
भेटवार्तामा भण्डारीले नेता खनालको स्वास्थ्य अवस्थाबारे चासो राख्दै नेकपा एमालेभित्र देखिएको विवादबारे चिन्ता प्रकट गरेकी थिइन् । ‘लोकतन्त्र बलियो बनाउन पार्टीहरू पनि बलियो हुनुपर्छ । सबै पार्टी बलिया भएमात्रै लोकतन्त्र जोगिन्छ । एकीकृत पार्टी पनि नटुटोस्, सकेसम्म मिलेर जानुस्’, खनाललाई राष्ट्रपति भण्डारीको आग्रह छ । भेटपछि नेता खनालले राष्ट्रपति भण्डारी आफ्नो निवासमा आएर समसामयिक विषयमा कुराकानी गरेको जानकारी दिए ।
‘राष्ट्रपति आउनु भयो । मलाई खुसी लागेको छ । मैले हार्दिक स्वागत गरे । भलाकुसारी गर्यौं । वर्तमान अवस्थाबारे कुराकानी र चिन्ता चासो प्रकट भए’, खनालले भने, ‘उहाँको चिन्ता पार्टी आन्दोलन एकतावद्ध भएर जावस्, लोकतन्त्र सुदृढ होस् भन्ने देखियो । ’
भेटमा नेता खनालले आफ्नो स्वास्थ्य सामान्य नै रहेको भन्दै आफ्नो स्वास्थ्य भन्दा देशको बढी चिन्ता रहेको राष्ट्रपतिलाई जानकारी गराएका थिए । ‘मेरो स्वास्थ्य सामान्य छ । मेरो जीवन नाफाको जीवन हो । मलाई चिन्ता धेरै पार्टीको छ । पार्टीमा समस्या उत्पन्न भएको अवस्थामा आउनुभएको छ । सबै पार्टी बलिया भए भने लोकतन्त्र बलियो हुन्छ भन्ने कुरामा तपाईं पनि जानकार हुनुहुन्छ’, राष्ट्रपतिसँग भएको छलफलबारे खनालले जानकारी दिए ।