काठमाडौँ /
प्रधानमन्त्री केपी ओलीले देशका सबै निर्वाचन क्षेत्रका १६५ वटा रणनैतिक सडकहरुको शुभारम्भ गरेका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच स्विच दबाएर उनले ती सडकहरुको शुभारम्भ गरेका हुन् ।
सबै निर्वाचन क्षेत्रका १६५ वटा सडक गरेर २२१० किलोमिटर कालोपत्रे हुने ती सडकहरुले रणनैतिक रुपमा अन्तरजिल्ला, सदरमुकाम वा राजमार्गसम्म जोडिएर समृद्धिमा सहयोग पुर्याउने शुभारम्भ कार्यक्रममा ओलीले बताए । ५७ अरब १० करोडको लागतमा बन्ने ती रणनैतिक सडकहरु अबको ३ वर्षभित्र ८० सालमा बनिसक्ने समेत प्रधानमन्त्री ओलीले बताए ।
विकास निर्माणका काममा प्रतिकूल असरपर्ने काम कसैले गर्न नहुने भन्दै विकास निर्माणको काम केवल सरकारको मात्रै नभएर सबैको साझा हुने उनले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका कामहरु मिडियाले नदेखेको समेत आरोप लगाए । एक अर्को प्रसङमा प्रधानमन्त्री ओलीले आफूले कुनैपनि हालतमा राजिनामा नगर्ने बरु समर्थन फिर्ता लिएर देखाउन समेत नाम उल्लेख नगरिकनै प्रचण्डलाई व्यंग्य गरे ।