काठमाडौं । अध्यक्ष केपी ओलीले नेताहरूमाथि कारबाहीको प्रक्रिया सुरु गरे पछि एमालेको खनाल-नेपाल समूहले पार्टीका समानान्तर कमिटीहरू गठन गर्दै आफ्नो शक्ति संगठित गर्न थालेको छ । नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि अध्यक्ष ओलीले पार्टी सदस्यबाट समेत निलम्बन गरेपछि खनाल-नेपाल समूहले मुलुकभर समानान्तर कमिटी बनाउन थालेको हो ।
यसअघि भ्रातृ संगठनहरूमा समानान्तर कमिटी बनाएको सो समूहले अब प्रदेश र जिल्ला तहमा संगठन निर्माण गर्न थालेको छ । यसको सुरुवात बिहीबार गण्डकी प्रदेशबाट गरिएको छ । पोखरामा आयोजित खनाल–नेपाल समूहको प्रदेशस्तरीय कार्यकर्ता भेलाले बिहीबारै ओलीबाट कारबाहीमा परेका नेता पाण्डेको नेतृत्वमा गण्डकी प्रदेशमा २२ सदस्यीय समानान्तर कमिटी गठन गरेको छ ।
चैत २९ अघि नै सबै जिल्लामा समानान्तर कमिटी घोषणा कार्यक्रम सम्पन्न हुने स्याङ्जाका अध्यक्ष रामचन्द्र भट्टराईले जानकारी दिए । उनका अनुसार भेलामा एघार वटै जिल्लाका सचिवालय सदस्य र नेता–कार्यकर्ताको उपस्थिति थियो । अध्यक्ष ओलीले चारजना नेताहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाएपछि खनाल–ने पाल समूह मुलुकभर समानान्तर संगठन निर्माण गरे र अघि बढ्ने निष्कर्षमा पुगेको थियो ।
तीन दिनअघि खनाल– नेपाल समूहमा आबद्ध ११ जना स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गर्दै ओलीका अवैधानिक कदमविरुद्ध संगठित हुन आमकार्यकर्तालाई आग्रह गरेका थिए । अध्यक्ष ओलीले एकएक गर्दै कारबाही गरे र खनाल–नेपाल समूहको शक्ति क्षीण बनाउने रणनीति अख्तियार गरेपछि उनलाई सफल हुन नदिन समानान्तर कमिटी बनाएर आफू पक्षका नेताहरूलाई जोगाइराख्ने योजना यो समूहले बनाएको हो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।