• मंसिर १० २०८१, सोमबार

म्याग्दीका १२ जना मजदूरमा कोरोना संक्रमण

चैत्र १९ २०७७, बिहीबार

बेनी । म्याग्दीको नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत आयोजनामा काम गर्ने १२ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । अन्नपूर्ण गाउँपालिकाको कोरोना अस्पतालमा लक्षणसहित उपचार गर्न गएका १० जनाको पीसीआर परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको हो । उनीहरूकै कन्टयाक ट्रेसिङमा परेका ७६ जनाको पीसीआर परीक्षण गर्दा बुधबार १२ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सुरुमा संक्रमण पुष्टि भएका ५ मध्ये ४ भारतीय र एक जना नेपाली थिए ।

बुधबार संक्रमण पुष्टि भएकाहरूमा एकजना भारतीय छन् भने अरू नेपाली छन् । स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले नारच्याङमा एक सातामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । जिल्लामा हालसम्म २ हजार ५ सय ३० जनाको स्वाब परीक्षण गरिएकामा ५७ महिलासहित २ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पोखरामा केही सातायता कोरोना संक्रमण पुनः बढेको छ । जाँच गराउनेमध्ये फागुनमा दैनिक औसतमा १२ जनामा संक्रमण पुष्टि हुनेमा चैतमा उक्त संख्या दैनिक १९ पुगेको महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

सोमबार ३२ जनामा संक्रमण पाइएकामा मंगलबार ३६ जनामा पुष्टि भएको छ । बुधबार पनि पोखराका विभिन्न वडामा गरी २३ जनामा संक्रमण पुष्टि भएको छ । एक र दुईबाहेक अधिकांश संक्रमित महानगरभित्रकै रहेको महाशाखाका अधिकृत हरिलाल आचार्यले बताए । ‘चैत लागेसँगै कोरोना संक्रमण पनि बढेको छ,’ उनले भने । उनका अनुसार माघमा दैनिक १७, फागुनमा १२ संक्रमित औसतमा हुने गरेकामा चैतको १८ दिनसम्मको विवरणमा दैनिक १९ पुगेका छन् ।