• मंसिर १२ २०८१, बुधबार

आपसमै लडे दुश्मनलाई कसरी जितौंला ?

चैत्र १८ २०७७, बुधबार

नेपालको वर्तमान केपी ओली सरकार जति नालायक आजसम्मको इतिहासमा नेपालमा कुनै पनि सरकार थिएनन् । केपी ओलीको सरकारले आफूलाई प्रमाणित गर्यो की आफैले विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थपित भएपछि पनि आफूले राजीनामा नदिएर नयाँनयाँ प्रतिगामी अस्त्रहरू खोजिरहेको छ । केपी ओलीलाई सत्ताच्यूत गरी नयाँ सरकार गठनका लागि असफल अन्य पार्टीहरू पनि दोषी नहोलान् त ? हामीहरूले बुझ्ने कुरा प्रतिगामीहरू आफ्नो अन्तिम अवसान नहोउन्ज्यालसम्म सत्तामा टिक्नलाई न्वारान देखिको बल प्रयोग गर्दछन् । त्यसको नमूना केपी नै हुन्, बाँकी उनका दलालहरु हुन् । अनौठो कुरा भएन तर नेपालमा केपीकै हाराहारीमा अरू पनि कम देखिएनन् । संविधान कार्यान्वयनको पहिलो चरणमै देश र जनताप्रतिको यति ठूलो विश्वासघातलाई टुलुटुलु हेर्न मन पराउने दलहरूलाई जनताले पनि मज्जाले चिन्ने मौका पाए ।

आज नेपालमा देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरुबाट संविधान, अदालत, ब्युरोक्रेसी र सुरक्षा अंगहरूलाई आफू अनुकूल तथा देश र जनताको विपक्षमा प्रयोग गरिरहेकै कुरो कतिपय प्रत्यक्ष कति त अप्रत्यक्ष रूपमा देख्न सकिन्छ । कोतपर्व, भण्डारखाल पर्व, मदन-आश्रित र राजदरबार हत्याकाण्ड आदि नेपालका ज्वलन्त उदाहरण हुन् । हामी भन्न सक्छौं दरबार र मदन-आश्रित हत्याकाण्ड विदेशी सेनाद्वारा घटाइएको हो । ती घटनाहरु केपी ओली जस्तै देखिने तत्कालीन समयका नेपाली दलालहरूको सहयोगबाट घटाइएको घटना भने अवश्य हो । आज पनि नेपाली राजनीतिमा फेरि पनि केपी ओलीबाटै नाङ्गोरुपमा एकपछि अर्को षड्यन्त्र वा काण्ड घट्नुले उनीपनि लामो समयदेखि वैदेशिक प्रतिक्रियावादद्धारा पालित पोषित नेपाली दलाल भएको प्रमाणित हुन्छ ।

हामीले थाहा पाउनै पर्छ, नेपाली दलालहरूले जनतालाई दिग्भ्रमित गर्दैछन् र लुटतन्त्रलाई निरन्तरता दिने कोशिस गरिरहेका छन् । उनीहरुका यस्ता विविध जालहरु जनतामाझ उजागर गर्दै दलालहरुलाई फेरि पनि गाउँगाउँबाट धपाउन आवश्यक भइसकेको छ । ती विदेशी दलालहरुलाई जनताको बलमा यदि हामीले परास्त गर्न सकेनौं भने नेपाल साम्राज्यवादीहरूको क्रिडास्थल बन्नेछ ।

कम्युनिस्ट विचार र सिद्धान्तको आधारमा नेपाली समाजलाई केलाउने हो भने विषय झन् गम्भीर बनेको अवस्था देखिन्छ । निजी सम्पत्तिको उदयसँगै हाम्रो समाजमा वर्गहरूको उदय भयो । उनीहरूको संघर्ष पनि निजी सम्पत्तिको विलोपसँगै अन्त्य हुनेछ तर आज हामी उही वर्गीय धरातलसँग आफै जुधिरहेका छौं । हामी आफ्नो वर्गमा अन्तरसंघर्ष संचालन गरी सही बुझाइका साथ उत्पीडक वर्गसँग सामाजिक, आर्थिक र रणनैतिक हिसाबले लडाईं लड्नुको विकल्प छैन । तर उत्पीडित हामीहरु नै आपसमा लडिरहेका छौं अनि हामी कसरी नेपालीका बैरीसित लड्न सक्छौं ? हामी आपसमै लडिरहन्छौं त कसरी दुश्मनलाई जित्न सक्छौं ? नेपालीले नेपाललाई बचाउने हो भने सर्वप्रथम हामी विचार र भावनात्मकरुपले नै एकठाउँमा आउन जरुरी छ ।

हामीले एउटा जीवित पार्टीमा आत्मसंघर्ष र अन्तरसंघर्षको विकसित रूपलाई वर्गसंघर्षका रुपमा लिनु पर्दछ । तर भएको पार्टी विघटन गर्न लाग्यौं र त्यसको प्रतिविम्बका रुपमा समाजमा एउटै वर्गमा अन्तरसंघर्ष संचालन नभई उही वर्गमा वर्गसंघर्षकै स्तरमा संघर्ष शुरु गरेका छौं जुन कुरा विचारधारात्मक र राजनैतिक कार्यदिशाका हिसाबले गलत छ । हामी गलत नियती र उल्टो बाटोबाट सही ठाँउमा कसरी पुगौंला ? आजसम्मको गोलचक्करबाट अगाडी बढ्नका लागि मालेमावादी दृष्टिकोणलाई पनि पुरातन कोणबाट बुझिएका कारण नेपाली जनताको अवस्थामा समृद्धि आएन र आउने सम्भावना पनि दखिंदैन ।

नेपाली राजनीति र कम्युनिष्ट आन्दोलन वर्गवैरीसँग भन्दा पनि आपसमै लडेर दुश्मनलाई रमिता देखाई आत्मरति लिने आजको वास्तविकता र यथार्थ होइन । राजनीति र विचारबाट विचलित झुण्डबाट नेपाली समाजको पुनर्संरचना आजसम्म सम्भव भएन र भविष्यमा पनि त्यसै गरेमा यो भन्दा विकराल रुप आउने लक्षणहरु देखापरेका छन् । सारमा हामीहरु उत्पीडकका विरुद्ध एकतावद्ध भएर संघर्षमा जुट्न नसक्दासम्म यो परिणति भोगिरहेका हुनेछौं । उत्पीडित वर्ग विघटित हुनुपर्ने दृष्टिकोण मालेमावादमा कहीँकतै व्याख्या गरिएको छैन तर हामीमा त्यो दृष्टिकोण कसरी आयो ? यसको हल खोजिनु पर्दछ ।

समाज विकासको प्रक्रिया भन्दा पछाडी हाम्रो चेतना किन भयो ? समाज विकासको गतिभन्दा नेतृत्वको चेतना पिछडिएका कारण आज संसार भरीका समाजवादी सत्ताहरु ढल्नु र नेपालमा पनि प्राप्त उपलब्धिहरुलाई समाप्त गर्न खोजिनु वा जोगाउन नसकिनु । जबसम्म नेतृत्वको दिमागमा समाज विकासको गतिलाई पकड्ने र थप विकास गर्ने चेतना विकास हुँदैन र त्यसलाई आम जनतासम्म समायोजित गर्न सकिंदैन तबसम्म जतिसुकै ठूला क्रान्ति गरे पनि पिछडिएको चेतनाबाट विचार रक्षाको सम्भावना छैन ।