काठमाडौँ। थारू कल्याणकारिणी सभासहित आन्दोलनरत् थरुहट संघर्ष समिति र सरकारबीच वार्ता शुरु भएको छ । थरुहट संघर्ष समितिको माग सम्बोधन गर्ने विषयमा आज मंगलबार दिउँसो गृहमन्त्रालयमा वार्ता शुरु भएको हो । वार्तामा गृहमन्त्री रामबहादुर थापा, थारुकल्याणकारिणी सभाका पदाधिकारी, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, पूर्वसांसद भगवती चौधरीलगायत सहभागी रहेको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।
सरकारले गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । थरुहटले १९ बुँदे माग राखेर वार्तामा बसेको हो । टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी, सांसद रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता गरिनु पर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरूलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्नेसहितका १९ बुँदे माग राखेर उनीहरू आन्दोलनमा छन् ।