काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताएका छन् । शनिबार संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले अहिले केही अन्योलता देखिए पनि निराश हुनुपर्ने स्थिति नरहेको बताएका हुन् ।
उनले ठूलाठूला बहसपछि संसद्ले गति लिन थालेको बताउँदै अब जनताको अपेक्षाअनुसार काम गर्ने बताए । गत पुस ५ गते देखि फागुन ११ गते सम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको पनि उनको भनाइ थियो ।
संसद् बहसको थलो भएकाले त्यहाँ व्यक्त हुने विचारप्रति सद्भाव रहने सभामुख सापकोटाले प्रष्ट पारे । अहिले केही अन्योलता देखिए पनि निराश हुनुपर्ने स्थिति नरहेको उनले बताए । उनले भने, ‘हामीले धेरै चिन्तित हुनुपर्ने, निराश हुनुपर्ने कुरा छैन । किनभने समस्याहरु आउँछन । निकै ठूलाठूला समस्या पनि आउँछन चुनौती पनि आउँछन । यो बहस, वादविवाद संवाद हुँदै फेरि अन्तिम निष्कर्षमा ठीक हुन्छ । फरकै छैन । मुख्य कुरा बहस हो । बहस भयो कि भएन ? बहस भएको छ । एकदम बिहङ्गम बहस भएको छ । महान बहस भएको छ । भ्रमहरु फैलिएका छन भने पनि हामी धेरै चिन्तित हुनुपर्दैन । भयानक भ्रमहरुबाट महान सत्यको जन्म हुन्छ ।’