• मंसिर १२ २०८१, बुधबार

कोरोना कहर : तत्काल लकडाउन नहुने, स्वास्थ्य सतर्कताका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने

चैत्र १३ २०७७, शुक्रबार

कठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सर्तकताको मापदण्ड पालना गर्न आग्रह गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर बढेपछि उक्त मन्त्रालयले अनिवार्य स्वास्थ्य सतर्ककता पालन गर्न आग्रह गरेको हो ।

छिमेकी मुलुक भारतलगायत अन्य मुलुकहरूमा कोरोना भाइरस (कोभिड–१९)को उच्चजोखिम बढेको त्यहाँका विभिन्न सञ्चारमाध्यमले बताएका छन् । ती मुलुकहरूमा जोखिम बढेसँगै नेपालमा पनि त्यसको प्रभाव परेको हुनाले स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

भारतीय खुल्ला सीमानाका र दोहोरो आवतजावतका कारण कोरोनाको संक्रमण बढ्दै गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । प्रवक्ता गौतमका अनुसार, –‘भिडभाड, हुलहुज्जत, सभा, गोष्ठी र जुलुस नगर्न भनिएको छ । यसका साथै सकभर घर बाहिर ननिस्किने र निस्किनै परेमा अनिवार्य मास्क, सेनिटाइजर प्रयोग गर्नुपर्ने छ ।’

बुधबार (अस्ति) उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का जिल्ला प्रशासन कार्यालयले संयुक्त विज्ञप्ति जारी गरेका छन् । जारी गरिएको उक्त विज्ञप्तिमा भनिएको छ, –‘कोरोना संक्रमण बढ्दै गएको हुनाले तीन वटै जिल्लाका क्षेत्रमा भिडभाड, सभा, गोष्ठी, सम्मेलन नगर्न नगराउन अनुरोध गरिन्छ ।’

त्यस्तै शुक्रबार (आज) काठमाडौं जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी लगायतको टोली बैठक बसेको छ । बैठकमा यातायातका चालक तथा सहचालकले अनिवार्य मास्क, सेनिटाइजर प्रयोग गर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, भौतिक दूरी कायम गर्नुपर्ने निर्णय भएको उक्त कार्यालय काठमाडौंले जनाएको छ ।

विशेष गरि शैक्षिक क्षेत्रहरू विद्यालय, क्याम्पस र विश्वविद्यालयमा प्राध्यापक, शिक्षक, विद्यार्थी र कर्मचारीहरूको बाक्लो उपस्थिति वा भिडभाड हुने भएकोले त्यस्ता क्षेत्रहरूमा अनिवार्य स्वास्थ्य सतर्कताको मापदण्ड पालना गर्नुपर्ने भन्दै बिहीबार (हिजो) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विज्ञप्ति जारी गरेको छ ।

तथापि कोरोनाले भयावह अवस्था निम्त्याएमा मात्रै लकडाउन हुनसक्ने स्वाथ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । अन्यथा देशमा लकडाउन नहुने उनी बताउँछन् ।