• मंसिर १३ २०८१, बिहीबार

प्रदेश १ का मुख्यमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ?

चैत्र १३ २०७७, शुक्रबार

विराटनगर, प्रदेश– १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार एवं हेरफर गर्दै केही नयाँ अनुहारलाई मन्त्रीमा नियुक्त गरेका छन् ।

शुक्रबार मुख्यमन्त्री राईले यसअघि आफू संकटमा पर्दा साथ दिएका माओवादी केन्द्रतर्फबाट आएकालाई मन्त्रीमा लगेका छन् । साबिक नेकपामा प्रचण्ड–माधव समूह छाडेर ओली समूहमा लागेका र नेकपा भंग भएपछि माओवादी केन्द्र छाडेर आएकाहरुलाई मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीमा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबोहाङ रहेका छन् । उनलाइ अर्थ मन्त्रालयकाे जिम्मा दिइने बताइएकाे छ । यसैगरी उषाकला राईलाइ सामाजिक विकास मन्त्रालयकाे जिम्मेवारी ताेकिएकाे छ ।

हाल प्रदेश राज्यमन्त्री रहेका अम्बीरबाबु गुरुङलाइ भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरिएकाे छ भने राम रानालाइ कृषि मन्त्रीमा नियुक्ति दिइएकाे छ । यसैगरी कला घले र राजकुमार ओझालाइ राज्यमन्त्री नियुक्त गरिएकाे जनाइएकाे छ ।

नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण आजै दिउँसो १ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने बताइएको छ ।