• मंसिर १० २०८१, सोमबार

एकैदिन ४७ जिल्लाका ४७९ ठाउँमा डढेलो

चैत्र १३ २०७७, शुक्रबार

काठमाडौं । एकै दिन ४७ जिल्लाका ४ सय ७९ स्थानमा डढेलो लागेको छ । दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जाल संयोजक डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले बिहीबारको डढेलो अहिलेसम्मकै सबैभन्दा धेरै भएको बताए । गत वर्ष यही दिन एक ठाउँमा मात्र डढेलो लागेको थियो । ‘बिहीबार धेरैतिर डढेलो लागेको देखिन्छ,’ नासाको मोडिस प्रविधिले खिचेको डढेलोको तस्बिर विश्लेषण गर्दै शर्माले भने, ‘यति डढेलो विगतमा कहिल्यै लागेको थिएन ।’

मध्य फागुनदेखि मध्य वैशाखसम्म अत्यधिक डढेलो लाग्ने गर्छ । हिमाली क्षेत्रमा कात्तिकमै डढेलो लाग्न सुरु हुन्छ । यो वर्ष रसुवा, ताप्लेजुङ, मनाङ, गोरखा, लमजुङलगायतका हिमाली जिल्लामा मंसिरदेखि डढेलो लागेको हो । केही हिमाली जिल्लामा अझै डढेलो नियन्त्रणमा आएको छैन । अघिल्ला ५ वर्षको कात्तिकदेखि चैतसम्मका डढेलोको तथ्यांकलाई विश्लेषण गर्दा पनि बिहीबारको डढेलो संख्या उच्च हो ।

अघिल्लो वर्ष कात्तिकदेखि चैत १२ सम्म १ सय ६५ स्थानमा डढेलो लागेको थियो । यो वर्ष यही अवधिमा २ हजार ८७ स्थानमा डढेलो लागेको देखिन्छ । ‘डढेलो लाग्ने मुख्य सिजन त अझै बाँकी छ,’ शर्माले भने । देशभर डढेलोको प्रकोप बढेपछि शर्मालाई बिहीबार गृह मन्त्रालयले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा डढेलो विज्ञका रूपमा खटाइएको छ । उनका अनुसार प्राधिकरणले सबै किसिमका प्रकोपसम्बन्धी तथ्यांक एकीकृत गरिरहेको छ ।

मंसिर–पुसमा उच्च हिमाली क्षेत्रमा मात्र डढेलो लगेकामा फागुनपछि मध्य पहाडी क्षेत्र र तराईका निकुञ्ज– आरक्षसहित सरकारी र सामुदायिक वनमा डढेलो बढेको छ । सन् २०१६ अप्रिलमा ५ हजार ३ सय ९६ स्थानमा डढेलो लागेको थियो । यो संख्या एक महिनामा रेकर्ड गरिएको अहिलेसम्मकै धेरै हो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।