• मंसिर १३ २०८१, बिहीबार

नेता नेपाल लगायत एमालेका ४ नेताले स्पष्टीकरण दिने

चैत्र १२ २०७७, बिहीबार

काठमाडौं । पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टीकरण मागिएका एमालेका चार नेताले स्पष्टीकरण माग्नेकै वैधानिक हैसियतमाथि प्रश्न उठाउँदै प्रत्युत्तर पठाउने भएका छन् ।

पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा गत शनिबार बसेको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसैका आधारमा तीन दिनअघि चारै जनालाई महासचिव ईश्वर पोखरेलले स्पष्टीकरण पत्र पठाएका थिए । केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गर्दै केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेको थियो ।

त्यसपछि चारजना नेतालाई महाधिवेशन आयोजक कमिटीका सदस्यको रूपमा सम्बोधन गर्दै स्पष्टीकरण पत्र पठाइएको थियो । ‘हामी प्रतिउत्तर दिन्छौँ, आयोजक कमिटी र त्यसको महासचिव भन्ने कुरा नै नक्कली हो, त्यसैले त्यो नक्कली चिठी हो,’ नेता भुसालले भने, । ‘दुनियाँलाई भ्रम नहोस् भन्नका लागि पनि हामीले केही भन्नुपर्नेछ ।’

सबै नेताहरूबीच छलफल गरेर त्यसका आधारमा जवाफ दिने जानकारी उनले दिए । प्रतिउत्तरमा के–के विषय कसरी समेट्ने भन्ने अन्तिम टुंगो लागिसकेको छैन । स्पष्टीकरण सोधिएका चिठीहरू पहिले नै सञ्चारमाध्यममा आए पनि उनीहरूले पत्र प्राप्त गरेपछिको तीन दिनको समयसीमा बिहीबार पुग्दै छ । स्पष्टीकरण पत्रमा तीन दिनभित्र चित्तबुझ्दो जवाफ नआए कारबाही किन नगर्ने भन्ने प्रश्न सोधिएको छ ।