काठमाडौं । जसपा नेपालले पूर्वसांसद रेशम चौधरीको रिहाइको माग गर्दै सरकारसँग वार्ता गरिरहेकै समयमा अन्य पार्टीमा संघ संगठनले समेत रिहाइको मागसहित आन्दोलन शुरु गरेका छन् । चौधरीको रिहाइको माग गर्दै राजधानीको माइतीघर मण्डलामा कांग्रेस, एमाले र माओवादी समर्थित थारु संघ संगठनले आन्दोलन थालेका हुन् ।
आन्दोलन थाल्नुअघि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई समेत भेटेका थिए । माइतीघर मण्डलामा थारु कल्याणकारिणी सभा र थरूहट, थारुवान संयुक्त संघर्ष समितिले चैत ८ गतेदेखि संयुक्त रुपमा धर्ना सुरु गरेका हुन् । थरुहट, थारुवान संयुक्त संघर्ष समितिमा नेपाली कांग्रेसको नेपाल थारु संघ, एमालेको नेपाल लोकतान्त्रिक थारु संघ र माओवादी केन्द्रको थारु राष्ट्रिय मुक्ति मोर्चा रहेका छन् । चौधरी टीकापुर घटनाका मुख्य दोषी मानिन्छन् ।
यद्यपी राजपा लगायतले टीकापुर प्रकरणलाई राजनीतिक घटनाको रुपमा दावी गर्दै उनको रिहाइको माग गर्दै आएको छ भने पछिल्लो समय होडबाजी नै देखिएको हो । थरुहटमा रेशम चौधरीको रिहाइसँग कतिपय नेताहरुको भविष्य जोडिएको छ । त्यही भएर रेशम चौधरी कसको पहल र दवावमा रिहाइ भएको कुरामा होडबाजी चलेको बताइएको छ । चौधरीको रिहाइ भए आफूहरुकै जोडबलमा सम्भव भएको देखाउने र राजनीतिक फाइदा लिने दाउ भएको कतिपयको भनाइ छ ।