संसदीय व्यवस्थाको विकल्प खोज्ने बेला भयो : सहभागीहरु
चैत्र ८ २०७७, आईतवार
काठमाडौं । राष्ट्रिय जागरण मञ्च नेपालले ‘संसदीय व्यवस्थाको असफलता र अबको विकल्प’ विषयक अन्तरक्रिया आइतबार राजधानीमा सम्पन्न गरेको छ । विभिन्न राजनैतिक पार्टीका नेताहरुलाई आमन्त्रित गरेर मञ्चले सो अन्तरक्रिया गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रिय अध्यक्ष सीपी गजुरेलले नेपालमा संसदीय व्यवस्था असफल सिद्ध भइसकेकोले अब सडक आन्दोलनबाट वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने धारणा व्यक्त गरे । गजुरेलले संसदीय व्यवस्थामा देखिएको अहिलेको असफलता भनेको प्रधानमन्त्री केपी ओलिको मात्रै सवाल नभएर यो संसदीय व्यवस्थाकै असफलता भएको समेत बताए ।
संसदीय व्यवस्था भनेको राष्ट्रघाती व्यवस्था भएको बताउँदै गजुरेले संसदीय व्यवस्थाले एमसीसी पास गर्न खोजेर देशलाई साम्राज्यवादीको टाङमुनि छिराउन चाहेको धारणा व्यक्त गरे । उनले भने, ‘अब फेरि संसदीय व्यवस्थाले एमसीसी पास गर्ने सरकार बनाउन खोज्दै छ ।’
अन्तरक्रिया कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रिय संयोजक विश्वभक्त दुलाल ‘आहुती’ले संसदीय व्यवस्था भनेको पुँजीवादको राजनैतिक अभिव्यक्ति भएको धारणा व्यक्त गरे । उनले भने ‘संसदीय व्यवस्था पुँजीवादभित्रको एउटा महत्वपूर्ण पक्ष पनि हो ।’ कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य अर्जुन कार्कीले संसदीय व्यवस्थाले समृद्ध नेपाल सुखी नेपाली भनेर राजनैतिक प्रहशन प्रदर्शन गरेको धारणा व्यक्त गरे ।
सो अन्तरक्रिया कार्यक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा वार्ता टोली सदस्य उदयबहादुर चलाउने ‘दिपक’ले अहिलेको विश्व व्यवस्थाले मानवजातिको भविष्यलाई नेतृत्व गर्न नसक्ने भएकोले यसको विकल्पमा जनताको मूल्य र विस्वासलाई सम्बोधन गर्ने व्यवस्था ‘वैज्ञानिक समाजवादी व्यवस्था’ स्थापना गर्नु आवश्यक भएको धारणा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रिय सदस्य राम कार्कीले नेपालको कम्युनिष्ट आन्दोलनमा ब्राह्मणवाद हावी भएकोले जनवर्गले निर्णायक आन्दोलन गर्न नसकेको धारणा व्यक्त गरे । उनले भने, ‘कम्युनिष्ट पार्टीले जनवर्गलाई कज्याउने होइन उनीहरुलाई स्वायत्तता दिएर आन्दोलन अगाडी बढाउनु पर्छ ।’
कार्यक्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले संसदीय व्यवस्थाको विशेषता भनेकै दलालहरुको बिगबिगी हुने व्यवस्था भएकोले नेपालको संसदीय व्यवस्थामा पनि दलालहरुको बिगबिगी भएको धारणा व्यक्त गरे । संसदीय व्यवस्था भनेको सम्पूर्ण अधिकार कागजमा लेख्ने तर व्यवहारमा अधिकारको प्रत्याभुत नगराउने व्यवस्था भएको बताउँदै नेपालमा यो व्यवस्था असफल भइसकेको दावी गरे ।
अन्तरक्रिया कार्यक्रममा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कि केन्द्रिय अध्यक्ष बन्धु चन्दले यो संसदीय व्यवस्थाले जनताले चाहेको गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी गर्न नसकेको आरोप लगाइन् । व्यवस्थाको नाम संघीय गणतन्त्र राखेको भएपनि शासकहरूमा सामन्तवादी चिन्तन हावी भएकोले यो व्यवस्था जनताको नजरमा सकिइसकेको उनको भनाई थियो ।
कार्यक्रममा मञ्चका अध्यक्ष गुणराज लोहनीले डिजिटल माध्यमद्वारा कार्यपत्र प्रस्तुत गरेका थिए । लोहनीकै अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम सामाजिक अभियन्ता नरबहादुर कार्कीले संचालन गरेका थिए ।