काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य रहेको उनको निजी सचिवालयले जनाएको छ । खनालको स्वास्थ्यमा समस्या भनि सम्प्रेषण गरिएको समाचारप्रति खण्डन गर्दै उनको निजी सचिवालयले स्वास्थ्य अवस्था सामान्य रहेको बताएको हो ।
उनका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गरेर खनालको स्वास्थ्यलाई लिएर केही सञ्चारमाध्ममले प्रचार गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै भनेका छन्, “बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था भने होइन ।”
“कुनै पनि व्यक्तिको स्वतन्त्रतासम्बन्धी हकअन्तर्गत स्वास्थ्य जस्तो गम्भीर संवेदनशील कुरामा सूचना सम्प्रेषण गर्नुभन्दा अगाडि परिवारसँग जानकारी लिने वा सम्बन्धित पक्षसँग सत्यतथ्य बुझ्न सबैमा सचेत गराइन्छ”, विज्ञप्तिमा भनिएको छ, “उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको, पार्टी कमिटीका सम्पूर्ण कार्यक्रममा सक्रियताका साथ लागिरहनुभएको हुँदा बाहिर आएको गलत सूचनाको भ्रममा नपर्न आमनागरिक, सञ्चार जगत, प्रबुद्ध समुदाय र शुभेच्छुक र शुभचिन्तक सबैमा हार्दिक आग्रह गर्दछु ।”