काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष ओली आफैले गुटबन्दी गरेर पार्टी फुटाएको आरोप लगाएका छन् । बुधवार काठमाडौंमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । एमालेका अध्यक्ष ओली पक्षधरले वरिष्ठ नेता माधव नेपाल तथा झनाथ खनाललाई राष्ट्रिय कार्यकर्ता भेला रोक्न चेतावनी दिए पनि यो भेला रोकिएन । बरु राष्ट्रिय कार्यकर्ता भेलामा पार्टी अध्यक्ष केपी ओली आफै उपस्थित भएर अध्यक्षका हैसियतले दिप प्रज्वलन गर्न नेपाल–खनाल पक्षका युवा नेताहरुले मंगलवार नै ओलीलाई व्यंग्यात्मक आमन्त्रण गरेका थिए ।
ओलीको चेतावनीका बाबजुद बुधवार आयोजित राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा वरिष्ठ नेता खनालले ओलीको पार्टी विभाजन गर्ने दुष्प्रयास एक श्रृंखलाका रुपमा विकास भएको भन्दै उनको गलत कार्यशैली र क्रियाकलापविरुद्ध देशभरका कार्यकर्ता आगोभएपछि यो भेला बोलाउनु परेको खुलासा गरेका थिए । कार्यकर्ताको यो रोष राष्ट्रिय भेलामा अभिव्यक्त भएकाले भेलाले पार्टीलाई ठोस दिशा दिन छलफलमार्फत् जे निष्कर्ष निकाल्छ, त्यसैलाई लिएर पार्टी एक ढिक्का बनाई अघि बढ्ने उनले बताएका थिए ।
खनालको अभिव्यक्तिमा ओली अहिले दक्षिणपन्थी भड्काउमा गैरहेकाले उनले पार्टी तथा देशलाई भड्खालोतिर डोर्याइरहेका छन् । पार्टी एक भएर जानका लागि गृहकार्य गरिरहेका बेला मदन भण्डारी फाउन्डेसनका नाममा ओलीले देशैभर गुटबन्दी गरेर एकता भाँडिरहेको स्मरण गराउँदै सिंगो पार्टीलाई ओलीले विचार, सिद्धान्त र नैतिकताको सीमा बाहिर लगिरहेको खनालले आरोप लगाए । पार्टीमा देखिएको विचार शुन्यताले संगठनमा अराजकता फैलिइरहेको बताए । हाल पार्टी यो दुर्दशामा आइपुग्नुमा ओलीको हात रहेको कुरामा उनले जोड दिएका थिए ।
सरकारमा बसेर ओलीले गरेका ज्यादतीहरु असैह्य भएका र ती संविधान र संघीयताको विरुद्धमा समेत परिलक्षित रहेका उनको भनाइ थियो । यो बीचमा भएको राजनीतिक लडाइँ ओली प्रवृत्तिका विरुद्ध भएकाले यो लडाइँ आफैमा राजनीतिक र संवैधानिक लडाइँ भएको उनको जिकिर थियो । हाल संसद पुनःस्थापनापछि पनि फेरि संविधान, लोकतन्त्र र जनताको जनादेश बचाउन निरन्तर संघर्ष गरिरहनु पर्ने खनालको दाबी रहेको छ ।