लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका ४, भुजुङमा मंगलबार दिउँसो परेको चट्याङले तीन जना विद्यार्थी घाइते भएका छन् जसमा दुईजनाको अवस्था गम्भीर छ भने एक जना सामान्य घाइते भएका छन् ।
भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत उक्त गाउँकै अन्दाजी १६/१७ वर्षीय विनोद विश्वकर्मा, छविन्द्र गुरुङ गम्भीर घाइते भएको विद्यालयले जनाएको छ । उनीहरु बेहोसी अवस्थामा छन् । कक्षा १० मै अध्ययनरत रेशबहादुर गुरुङ घाइते भएका छन् । उनको एउटा हात नचल्ने अवस्थामा रहेको विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर गुरुङले बताए ।
उनका अनसार मंगलबार दिउँसो करिव ३ बजेतिर परेको छट्याङले छात्राबासमा पढिरहेका विद्यार्थी घाइते भएका हुन् । उनीहरुलाई जिपमा भुजङबाट घलेगाउँसम्म ल्याइएको र घलेगाउँबाट उद्दार गरी हेलिकप्टरमार्फत पोखरा लगिएको वडाध्यक्ष खिमबहादुर गुरुङले बताए । उनका अनुसार घाइते विद्यार्थीलाई पोखरास्थित गण्डकी अस्पतालमा लगिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घले, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालगायतको पहलमा हेलिकप्टर मगाएर पोखरा पठाइएको उनले बताए ।
विद्यालयका अनुसार चट्याङले विद्यालय भवन, छात्रबासमा जोडिएको तारहरु छिन्नभिन्न भएको छ ।