काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकोप्टर चढेर ससुराली पुगेको तस्बिरहरु सामाजिक संजालमा सार्वजनिक भए लगत्तै चर्चाको विषय बनेको छ ।
गत माघ ११ गते संखुवासभाकी मोडल जङमु शेर्पासँग विवाह गरेका मुख्यमन्त्री राई हेलिकोप्टर चढेर ससुराली पुगेको तस्बिर मंगलबार जङमुले सामाजिक सञ्जालमा राखेकी हुन्।
जङमुले सामाजिक सञ्जालमा शेरधनको ससुराली यात्राका ११ वटा तस्बिरहरु सार्वजनिक गरेकी हुन्। जसमा राई दम्पती हेलिकप्टरमा उभिएकोदेखि ससुरालीमा भेटघाटसम्मका तस्बिरहरु रहेका छन्।
उनले आफू गाउँमा जन्मिएको तर नबसेको, गाउँ सुन्दर रहेको र विकासमा पछाडि रहेका कारण मुख्यमन्त्री राईको ध्यानाकर्षण समेत गरेको बताएकी छन्।
‘मैले भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो’, फेसबुकमा शेरधनपत्नी जङमुले लेखेकी छन्, ‘म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ। सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो, धेरै खुसी लाग्यो। मेरो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महशुस गरे किनकि त्यहाँ सडक, विद्युत, शिक्षा, स्वास्थ्य र सञ्चार लगायतको पहुँचले जनतालाई जोडन बाँकी रहेछ। अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ। सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु।’
संखुवासभाका प्रतिनिधि सभा सांसद तथा नेकपाका केन्द्रीय सदस्य राजेन्द्र गौतमले मुख्यमन्त्री राईलाई ससुराली पक्षले हेलिकोप्टरको व्यवस्था गरिदिएको बताए। उनले ती फोटाहरु एक महिना अगाडिको भएको बताए।