• मंसिर १३ २०८१, बिहीबार

सर्वदलीय बैठक सुरु, को-को पुगे शितल निवास ?

चैत्र ३ २०७७, मंगलवार

काठमाडौं । सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक सुरु भएको हो ।

राष्ट्रपति भवन शितल निवासमा शुरु भएको बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा सहभागी छन्।

यस्तै नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र उपसभापति विमलेन्द्र निधि सहभागी भएका छन्।

नेकपा (माओवादी केन्द्र) को तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी छन् भने जनता समाजवादी पार्टी (जसपा)बाट महन्थ ठाकुर र राजेन्द्र महतो सहभागी भएका छन्।

यसैगरी बैठकमा नेपाल मजदूर किसान पार्टीका तर्फबाट सांसद प्रेम सुवाल र राप्रपाबाट प्रकाशचन्द्र लोहनी सहभागी छन्। मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी पनि बैठकमा सहभागी छन्।

माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई भने शितल निवास गएनन् ।

राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल तथा पूर्वप्रधानमन्त्रीहरुसँग मंगलबार अपराह्नका लागि सर्वदलीय बैठक आह्वान गरेकी थिइन्।