काठमाडौं । विश्वको अग्लो हिमाली चुचुरो सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारका सदस्यसहित १६ जनाको टोली नेपाल आइपुगेको छ । सर्वोच्च शिखर सगरमाथासहित उच्च हिमालको आरोहणका लागि निवेदन आइरहेको भनी नेपाल पर्वतारोहण संघले जानकारी दिएसँगै यो टोली नेपाल आएको हो । विशेष बिमानमार्फत् सोमवार साँझ काठमाडौं भित्रिएको यो टोलीको लक्ष्य गोरखा भ्रमण र सगरमाथा आरोहण रहेको छ ।
नेपालमा कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि अपनाइएको मापदण्डअनुसार यो टोली पाँच दिनसम्म क्वारेन्टाइनमा बस्ने छ । हाल राजधानी सहर काठमाडौंस्थित होटेल मेरियटमा उनीहरुका लागि पाँच दिने सेल्फ क्वारेन्टाइन रहने छ । यो टोलीको भ्रमण तालिकाअनुसार सगरमाथा आरोहणमा जानुपूर्व टोली गोरखा पुगेर पाँच दिन बिताउने छ । त्यसपछि टोली सगरमाथा आधारशिविर जाने छ ।
१६ जनाको टोलीमा बहराइन राजपरिवार सदस्य शेख मोहम्मद हमाद, मोहम्मद अल खालिफासहित बहराइन रोयल गार्ड, डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनी र तीन जना बेलायती नागरिक रहेका छन् । यो टोली लगातार ८० दिन नेपालमा रहने भ्रमण तालिकामा उल्लेख छ ।
कोरोना महामारी सुरु भएको एक वर्षपछि नेपालमा हिमाली पर्यटनमा बृद्धि हुन थालेको छ । पश्चिमा तथा खाडी देशहरुले नेपाललाई ‘कोरोना जोखिम क्षेत्र’मा राखेपनि त्यहाँबाट हिमाली पर्यटनका लागि आउने पर्यटकको संख्यामा क्रमशः बृद्धि हुन थालेको यो शुभसंकेत हो ।
हाल सगरमाथा भ्रमणमा आएको टोलीले पोहर साल सन् २०२० मा लोबुचे चुचुरो र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरका थियो । सगरमाथा आरोहणको यो अवसरका भ्रमण टोलीले गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित समागाउँका बासिन्दाका लागि कोरोना भाइरसविरुद्ध दिइएको अस्ट्राजेनेका खोपको दुई हजार डोज सहयोगस्वरुप प्रदान गर्नेछ ।