काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौलाले पार्टी सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व गर्ने गरी पहलकदमी लिनका लागि आग्रह गरेपछि नेपाली कांग्रेसले अब बन्ने सरकारको ढोका खोल्ने आशा गरिएको छ । यति बेलासम्म नेपाली कांग्रेस पर्ख र हेरको नीति अंगीकार गरिरहेकाले संसदभित्र निम्तिएको संसदीय संकट निकै जटिल बन्दै गैरहेको छ ।
संसदीय जोडघटाउको खेलमा निर्णायक अवस्थामा रहेको नेपाली कांग्रेस आफैले समस्या समाधानका लागि पहल नलिंदा अदालतले दलको कानुनी मान्यताबारे लिएको पछिल्लो निर्णयअनुसार साबिक एमाले र साबिक माओवादी केन्द्रले गरेका पहल केवल छलफलमा मात्र सिमित हुन पुगेका छन् । नेपाली कांग्रेसभित्र सरकार निर्माणका लागि पहल लिन फरक मतका नेताहरुले अनुरोध गरेपनि सभापति देउवा अहिलेसम्म नबोलेकाले स्थिति यसै होला भनी अनुमान गर्न सकिने अवस्थामा भने छैन ।
संसदीय व्यवस्थाको रक्षा र संरक्षणका लागि लामो समयदेखि आफ्नो अपनत्व लिंदैं आएको र प्रजातान्त्रिक अभ्यास पनि गर्दै आएको नेपाली कांग्रेसले पहल लिंदा निकास निस्कन सक्ने धेरैको अनुमान रहेको छ । संसद पुनस्र्थापना भएपछि पूर्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई साबिक दलमा आएको दल बदलाव र उनीहरुका बीचमा रहेको तिक्ततापूर्ण तथा पूर्वाग्रहका कारण ओली सरकारले निरन्तरता पाउन नसक्ने अवस्थामा यो संकट निम्तिएको हो ।
साबिकका दलमा फर्किएका एमाले र माओवादी केन्द्रका बीचमा आआफैले सरकारको नेतृत्व नेतृत्व सम्हाल्न तयार हुने तर एकले अर्कालाई नसघाउने चाहना व्यक्त भएपछि संसदसभित्रको संकट झनै संकटपूर्ण बन्न गन्दै गएको थियो । यसै बीच प्रम केपी शर्मा ओलीले माओवादी केन्द्रबाहेक अरु सबैसँग वार्ताको पहल गरिरहे पनि निकासका लागि सुधारात्मक संकेत देखा पर्न सकिरहेको छैन ।
प्रम ओली विशेष गरी जनता समाजवादी पार्टीलाई फकाउनतिर लागे पनि त्यही पार्टीका सबै नेता सरकारसँगको वार्तामा सन्तुष्ट छैनन् । हाल सरकारसँगको वार्तामा जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो लागि परे पनि उही दलका अन्य दुई नेता बाबुराम भट्टराई र उपेन्द्र यादव भने सरकारसँगको वार्ताप्रति सन्तुष्ट छैनन् । यसले जनता समाजवादी पार्टीसँगको नयाँ सहकार्य सफल भएर ओली सरकार टिकिरहला भन्न गाह्रो बनाएको छ ।
अर्कोतिर माओवादी केन्द्रका नेता पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनिहाल्ने अवस्था पनि देखिएको छैन । बरु दाहाल आफैले अब बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति देउवाले नै गरुन् भन्ने विचार व्यक्त गरिरहेका छन् । नेपाली कांग्रेसले पनि आफूले नेतृत्व गर्न पाए सरकारमा जाने तर अरुको नेतृत्व स्वीकार नगर्ने कुरा बारम्बार गरिरहेकाले अब त नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ कि भन्ने राजनीतिक जगतमा केही अपेक्षा गरिन थालिएको देखिन्छ ।
ककसले केके गर्छन् हेरौं भनी पर्खिएको देखिने नेपाली कांग्रेस आफूहरुविना निकास ननिस्कने देखेपछि आफैले नेतृत्व गरेर संकटको निकास दिने सोचमा एक ठाउँमा आएको देखिन्छ । धेरैको आशयमा अब हुने नेपाली कांग्रेसको पदाधिकारी बैठकमा यसको किटानीका साथ टुंगो लगाइने छ । नेपाली कांग्रेसले लिनसक्ने यस्तोखाले आधिकारिक निर्णयपछि नेपाली राजनीतिक जगतमा वैकल्पिक समीकरणको समेत लेखाजोखा हुन थालिने पूर्वांकलन गरिन पनि थालिएको छ ।