पत्रकार सुशील शर्माको निधन भएको छ। बिबिसी नेपाली सेवामा १२ वर्ष पत्रकारिता गरेका शर्माको शुक्रवार काठमाडौँमा निधन भएको हो।
मृगौलाको रोगबाट पिडित शर्मा लामो समयदेखि उपचारमा रहेको बताइएको छ। उपचारकै क्रममा रहँदा शरीरका बिभिन्न अङ्गहरुले काम गर्न छोडेपछि राजधानी काठमाडौँको ओम अस्पतालमा उनको निधन भएको हो।
बीबीसी नेपाली सेवाको लोकप्रियता र बिस्तारमा उहाँको योगदान सदा स्मरणीय रहनेछ भनेर बिबिसीमा कार्यरत अर्का पत्रकार सुमन खरेलले उनको निधनमा स्तब्ध भएको बताएका छन्। शर्माको आजै पशुपती आर्यघाटमा अन्तेष्टी गरिने भएको छ।
६३ वर्षसम्म बाँचेका पत्रकार शर्माले सरकारी मुखपत्र द राईजिङ्ग नेपाल दैनिकबाट पत्रकारिता शुरु गरेका थिए।
अंग्रेजी साप्ताहित स्पटलाईट पछि सन् १९९६ देखि बी बी सी नेपाली सेवाको प्रमुख संवाददाताको पदमा कार्यरत रहेर सन् २०११ मा बीबीसी नेपाली सेवाको प्रमुख संवाददाताको पदबाटभने उनले राजिनामा दिएका थिए। उनका एक छोरा र श्रीमती छन्।