• बैशाख १८ २०८३, शुक्रबार

भारतमा कोठी सञ्चालन गर्ने चमेली नुवाकोटबाट पक्राउ

फाल्गुन २८ २०७७, शुक्रबार

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित जिबी रोडमा कोठी सञ्चालन गर्ने रुकमाया तामाङ (चमेली) लाई प्रहरीले नुवाकोटबाट पक्राउ गरेको छ । मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोट दुप्चेश्वर नगरपालिका–२ घरभई भारतको नयाँ दिल्लीमा कोठी सञ्चालन गरी बस्ने ६२ वर्षीया (चमेली) सिता तामाङ भन्ने रुकमायालाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको सहयोगमा विदुर नगरपालिकाबाट उनलाई पक्राउ गरेको जनाएको छ । ब्यूरोका अनुसार तामाङको सहयोगीले चितवनमा चिनजानको मानिसको घरमा काम लगाइदिन्छु भन्दै एक युवतीलाई काठमाडौंबाट बसमा लगेर पानीमा बेहोस हुने औषधि खुवाएर भारतको नयाँ दिल्लीस्थित कोठीमा पुर्‍याएर बिक्री गरेको प्रहरीमा जाहेरी परेको छ ।

तामाङले ती युवतीलाई बरजस्ती बेश्यावृतिमा लगाएको जाहेरीका आधारमा पक्राउ गरिएको ब्यूरोले जानकारी दिएको छ । मानव बेचबिखन कार्यमा संलग्न अन्य अभियुक्तको खोजीकार्य जारी रहेको ब्यूरोले जनाएको छ । तामाङविरुद्ध अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान जारी छ ।