• बैशाख १७ २०८३, बिहीबार

दैलेखमा मिनीबस दुर्घटना : दुईको मृत्यु, १६ जना घाइते

फाल्गुन २७ २०७७, बिहीबार

काठमाडौं । कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका–१ स्यालाकोटमा मिनीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

बिहीबार कालीकोटबाट सुर्खेतर्फ आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको मिनीबस अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रहरी कार्यालय दैलेखका अनुसार बसमा सवार १८ जनामध्ये एकजनाको घटनास्थलमै र अर्का एकजनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा कालिकोटकाे शुभकालिका गाउँपालिका-१ भर्ताका अन्दाजी ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विक रहेका छन् ।
घटनामा १० जना घाइते भएका छन् । तीमध्ये ७ जना गम्भीर अवस्थामा रहेको जनाइएकाे छ ।
दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।